गुर्जा हिमालमा आएको हिमआँधीमा परी ९ जनाको मृत्यु, ८ जनाको शव काठमाडौँ ल्याइयो

काठमाडौँ । गुर्जा हिमालको आधार शिविरमा हिमआँधीमा परेर ज्यान गुमाएका ८ जनाको शव काठमाडौँ ल्याइएको छ। साँझ ५ बजेर १५ मिनेट जाँदा शव काठमाडौँको महाराजगञ्जको शिक्षण अस्पतालमा ल्याइएको सिम्रिक एयरकातर्फबाट सुरज सुवेदीले जानकारी दिए।

शवलाई पोखराबाट सिम्रिक एयरको दुई वटा हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो। एक जनाको शव म्याग्दीमा नै बुझाइएको छ। प्रहरीका अनुसार असोज २४ गते राति सुतिरहेको अवस्थामा आएको हिमआँधीमा परेर दक्षिण कोरियाका जहन लि, च्याङ हो किन, इल जिन रिम, योङ जिक यु र जुन मो जियोङको मृत्यु भएको थियो।

यसैगरी, धबलागिरि गाउँपालिका–१ गुर्जाका २९ वर्षका नेत्रबहादुर छन्त्याल, सङ्खुवासभाको हटियाका ३९ वर्षीय छिरिङ भोटे, सङ्खुवासभाकै भोटेखोला गाउँपालिका–३ का २१ वर्षीय लाक्पा स्याङ्बु भोटे र सोलुखुम्बु घर बताउने फुर्वा भोटेको पनि हिमआँधीमा परेर मृत्यु भएको थियो।

ज्यान गुमाउनेमध्ये धवलागिरी गाउँपालिका–१ गुर्जाका २९ वर्षका नेत्रबहादुर छन्त्यालको शव पोष्टमार्टम गरेर उतै बुझाइएको प्रहरीले जनाएको छ। आइतबार बिहान खोजी टोलीले सबै ९ जनाको शव खोँचमा भेट्टाएको म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले बताए।

आइतबार बिहान हेलिकप्टरबाट आधार शिविरमा पुगेका सुरक्षाकर्मी र उद्धारकर्मीको टोलीले पहाडको खोँचबाट नौजनाको शव सङ्कलन गरेका थिए। म्याग्दीको धवलागिरि गाउँपालिका–१ को गुर्जा हिमाल आरोहण र पदयात्राका लागि उनीहरू ट्रेकिङ क्याम्पस नेपालमार्फत गएका थिए।

उनीहरु असोज २४ गते रातिको हिमआँधीमा परेका थिए । आधार शिविर पुगेको टोली सम्पर्कबिहीन भएपछि शुक्रबार गुर्जाका बासिन्दा आधार शिविरतर्फ गएका थिए । स्थानीय बासिन्दाको टोली आधार शिविर पुगेर शुक्रबार राति फर्किएपछि शनिबार बिहान मात्रै दुर्घटनाको बारेमा जानकारी भएको थियो।

बेनीबाट चार घण्टा गाडी र आठ घण्टा पैदल हिँडेपछि पुगिने गुर्जा गाउँबाट थप पाँच घण्टा हिँडेपछि आधार शिविर पुगिन्छ। पर्यटन विभागबाट ६० दिनको अनुमति लिएर उनीहरु गुर्जा हिमालको पहिलोपटक आरोहण गर्न आधार शिविर पुगेका थिए।

पाइलट आनन्द थापाको नेतृत्वमा शव काठमाडौँ ल्याइएको हो। शव ल्याउन छिरिङ भोटे, दावा भोटे, जुद्ध गुरुङ बुद्ध लगायतले सहयोग गरेका छन्।

Loading...