दशैँ तिहारमा मासु त खाअाैं तर यी कुरामा होस् गराैं

दशैंलगत्तै फुड पोइजनिङ (खानाको कारण हुने विषाक्तता) भई अस्पताल धाउनेहरुको संख्या नेपालमा धेरै छ । यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्ने त ?

दशैं हिन्दूहरुको महान् चाड । ठूलाबडाको आशिर्वाद र टिका थाप्ने अवसर हो यो । दशैं मासुको लागि पनि त्यत्तिकै प्रख्यात छ । विशेष गरी मासुका विभिन्न परिकारहरु बनाएर खाने चलन हुन्छ तर सानोसानो लापरवाहीले थुप्रै मानिसहरु विरामी पर्छन् र अस्पताल धाउन बाध्य हुन्छन् । यसपालिको दशैंमा मासुजन्य रोगबाट कसरी बच्ने, आउनुहोस्, केही चर्चा गरौँ ।

मासु एक पौष्टिक आहार हो जसमा १५ देखि २० प्रतिशत प्रोटिन पाइन्छ । यसमा जिङ्क, भिटामिन बी, पोटासियम जस्ता तत्वहरु पनि प्रशस्त मात्रामा पाइन्छन् । यी तत्वहरु हाम्रो शरीरलाई अत्यावश्यक तत्वहरु हुन् । तर, यसका बाबजुद मासुले धेरै किसिमका रोगहरु पनि निम्त्याउँछ । हार्वाड विश्वविद्यालयमा भएको एक अध्ययनअनुसार दैनिक रातो मासुको सेवनले मुटु रोग र क्यान्सरको सम्भावना बढाउँछ । यसका साथसाथै धेरै मासु खानाले हड्डी कमजोर हुने, आथ्र्राइटिस (जोर्नीसम्बन्धी रोग) हुने, कोलेस्ट्रोल बढ्ने तथा स्तन क्यान्सर हुने सम्भावना पनि बढी हुन्छ ।

नेपालमा भने मासुबाट जुका पर्ने र ब्याक्टेरिया सङ्क्रमण हुने बढी पाइएको छ । कहिलेकाहीँ बर्ड फ्लु जस्ता भाइरल रोगहरु पनि आउँछ । दशैंलगत्तै फुड पोइजनिङ (खानाको कारण हुने विषाक्तता) भई अस्पताल धाउनेहरुको संख्या नेपालमा धेरै छ । यस्तो अवस्थामा आफ्नो स्वास्थ्यको ख्याल कसरी राख्ने त ? मासुबाट रोग कसरी सर्छ त ?

– अस्वस्थ तथा विरामी पशुपंक्षीको मासु खाएमा
– मासु काट्ने तथा तयार गर्ने ठाउँ फोहोर भएमा र राम्ररी फ्रिजमा भण्डारण नगरेमा
– मासु काट्ने र तयार गर्ने व्यक्ति तथा हतियार स्वस्थ र सफा नभएमा
– बासी तथा सडेगलेको मासु खाएमा
– काँचो, पोलेको तथा नपाकेको मासु खाएमा

स्वस्थ मासु कसरी चिन्ने ?

– मासु किन्ने पसल सफा गरेर राखेको छ कि छैन हेर्ने
– मासु काट्दा र समाउँदा मासु तन्केको जस्तो हुन नहुने
– मासु फ्रिजमा भण्डारण गरेको हुनुपर्ने
– मासु हल्का गुलावी तथा हरियो प्याजी रङ्गको हुन नहुने
– असाधारण गन्ध नआएको हुनुपर्ने

कस्तो मासु खाने, कस्तो नखाने ?

– राम्ररी पखालेको र राम्ररी पाकेको
– काँचो मासु (कचिला) र पोलेको मासु (छोयला) को प्रयोग सकेसम्म नगर्ने
– खुला राखेको र बासी मासु नखाने
– फ्रिजमा लामो समयसम्म भण्डारण गरेर राखिएको मासु पनि सकेसम्म नखाने

मासु कसरी भण्डारण गर्ने ?

– ताजा मासुलाई २ देखि ४ डिग्री सेन्टिग्रेडमा फ्रिजमा ४८ घण्टासम्म भण्डारण गर्न सकिन्छ ।
– फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने र कहिले पनि माथिल्लो भागमा नराख्ने । माथिल्लो भागमा राख्दा मासुमा भएका किटाणुहरु मासुमै हुने तरल पदार्थमार्फत् तल झर्नसक्ने हुँदा तल राखिएका अन्य खाना, सागसब्जी, फलफूल तथा तरकारीहरुमा पर्नसक्ने खतरा हुन्छ ।
– मासुलाई अन्य पाकेका खानासँगै फ्रिजमा नराख्ने

विशेष गरी दशैँमा ध्यान दिनुपर्ने कुराहरु

– दिनहुँ मासु प्रयोग नगर्ने
– हरियो सागपात, फलफूल र अन्य तरकारीहरु पनि बारम्बार खाइरहने
– माथि उल्लेख भएअनुसार स्वस्थ मासु पकाएर खाने र सकेसम्म मासुको प्रयोग कम गर्ने
– विश्वसनीय पसलबाट मात्र मासु किन्ने र आफूले तयार गर्दा सरसफाइमा ध्यान दिने

यी साधारण कुरा हुन् जसको ध्यान हामीले राख्यौँ भने रोगबाट सजिलै बच्न सकिन्छ र हाम्रो दशैं स्वस्थ र खुसीले बित्छ ।

Loading...