अन्तराष्ट्रिय प्रहरी संगठन इन्टरपोलका अध्यक्षलार्इ नियन्त्रणमै लिएर चीनले थाल्यो यस्तो अनुसन्धान

काठमाडाैं, २० असाेज । चीनले अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टर्पोलका प्रमुख मेङ होङ्वेईमाथि अनुसन्धान गरिरहेकाे जनाएकाे छ । इन्टरपाेलका अध्यक्ष रहेका मेङ अपराधिक क्रियाकलापमा सम्लग्न भएकाे भेटिएकाे भन्दै चीनले उनीमाथि छानविन थालेकाे जनाएकाे छ ।

चीन सरकारको केन्द्रीय अनुशासन निरीक्षण आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै मेङमाथि अनुसन्धान भइरहेकाे सार्वजनिक गरेकाे हाे । मेङ फ्रान्सस्थित इन्टर्पोलको मुख्यालयबाट २५ सेप्टेम्बरमा चीन गएका थिए । मेङ चिनियाँ नै हुन् । उनी फ्रान्सबाट चीन पुगे लगत्तै वेपत्ता भएका थिए । उनी चीनमा पुगेर पनि अाफ्नाे परिवारको सम्पर्कमा नगएकाे थाहा पाएपछि इन्टरपाेलले यसबारे चीन सरकारसँग चासाे राख्दै अाएकाे थियाे । इन्टर्पोलले आफ्ना अध्यक्ष मेङ होङ्वेईको अवस्थाबारे स्पष्ट पार्न चीनलाई आग्रह पनि गर्दै आएको थियो।

मङ होङ्वेई वेपत्ता भएको १४ दिनपछि चीनले पहिलाे अाैपचारिक प्रतिक्रिया जनाएकाे छ । चीनको अनुशासन निरीक्षण केन्द्रीय आयोगले आइतबार संक्षिप्त वक्तव्य जारी गर्दै भनेको छ, ‘चीनको जन सुरक्षा मामिला उपमन्त्री मेङ होङ्वेईमाथि उनको आपराधिक क्रियाकलापमा संलग्नताबारे अनुसन्धान भइरहेको छ।’

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्टले चिनियाँ स्रोतलाई उद्धृत गर्दै चौसठ्ठी वर्षीय मेङलाई ‘सोधपुछ गर्न लगिएको’ जनाएको थियो। २०१६ मा इन्टर्पोलको अध्यक्षमा निर्वाचित भएका मेङ चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ अधिकारी पनि रहेको बताइएको छ।

Loading...