बौद्ध प्रहरीका डिएसपी रार्इ घुस लिँदालिँदै रंगेहात पक्राउ

काठमाडौं, २० असाेज । महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राई सेवाग्राहीसँग घुस लिँदा लिँदै पक्राउ परेका छन् । रार्इलार्इ अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले एक लाख ४० हजार रुपैयाँ घुस लिँदालिँदै शनिबार साँझ ८ बजे पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सह-सचिव तथा प्रवक्ता रामेश्वर दङ्गालले डीएसपी रार्इ पक्राउ परेको पुष्टि गरे । आयोगका प्रवक्ता दङ्गालले डीएसपी रार्इ परेको जानकारी दिँदै भने, ‘एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ ।’

रार्इलार्इ अख्तियारले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ । शुक्रबार राति मात्रै उनकै एरियामा पर्ने मुलपानीस्थित जुवाडेको एक अखडामा महानगरीय प्रहरी परिसरको टोलीले छापा हानेको थियो ।

त्यसक्रममा हामफालेर भाग्न खोज्दा दुर्इजनाले ज्यान गुमाए । प्रहरीले छापा मार्दा भागदौड गर्ने क्रममा दुई जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका थिए ।

कागेश्वरी-मनोहरा नगरपालिका मुलपानीस्थित तेण्डु शेर्पाको घरमा संगठित रुपमा जुवा खेलाउने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा प्रहरीको टोली छापा मार्न गएको थियो ।

डीएसपी राईले बौद्ध क्षेत्रमा व्यापारीबाट रकम असुल्ने गरेको उजुरी प्रहरी प्रधान कार्यालयमा परेको बताइएको छ । उजुरी परे पनि उनीमाथि कारबाही भएको थिए । बौद्धका व्यापारीले उजुरी दिएपछि प्रहरी मुख्यालय र काठमाडौं परिसरले उनलार्इ सचेत पनि गराएका थिए ।

Loading...