भीआर्इपी जुवा घरमा प्रहरीको छापा, चार तलामाथिबाट हामफाल्दा दुर्इ जुवाडेको मृत्यु

काठमाडौं, २० असाेज । राजधानीकाे एक गाेप्य जुवा अखडामा प्रहरीले छापा मारे लगत्तै जुवा खेलिरहेका २ जना व्यक्तिकाे ४ तला माथिबाट हामफालेर भाग्न खाेज्दा मृत्यु भएकाे छ । काठमाडाैंकाे मुलपानी स्थित एक ‘भीआईपी जुवा अखडमा शुक्रबार राति प्रहरीले छापा मारेको र साे क्रममा दुर्इ जना व्यक्ति ४ तलामाथिबाटै हामफालेकाे र उनीहरुकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंबाट गएकाे प्रहरी टोलीले शुक्रबार राती मुलपानीकाे एक घरमा छापा मारेकाे हाे । विशेष सूचनाका अाधारमा सादा पाेशाकमा प्रहरी टाेलीले छापा मार्न प्रयास गरेकाे तर घरकाे मूल ढाेका चेन गेट रहेकाे र त्यसकाे बाहिरबाट ताल्चा लगाइएकाेले प्रहरीले त्यसलार्इ ताेडन समय लागेकाे बताइएकाे छ ।

राति १० बजेतिर प्रहरी साे घरमा पुग्दा जुवाडेहरु बाहिर च्यानल गेटमा ताला लगाएर जुवा खेलिरहेका थिए । प्रहरीले ताला फुटाएर बल्ल जुवाखालमा पुगेकाे थियाे । त्यति गर्दा पनि जुवा खालमा प्रहरीले ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको जनाएकाे छ ।

प्रहरीले छापा मार्न थालेपछि जुवा खेल्न सहभागी भएका सरोज घले र सोमलाल तामाङ चार तला माथिबाटै हाम फालेकाे बुझिएकाे छ । प्रहरी आएको थाहा पाएपछि अँध्यारोमा अचानक हाम्फालेका घले र तामाङलार्इ राति नै ललितपुरको ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा पुर्याइएकाे थियाे । उनीहरुकाे अस्पतालमै मृत्यु भएको बताइएकाे छ ।

महानगरिय प्रहरी परिसर काठमाडाैका डिएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएकाे प्रहरी टाेलीले साे क्रममा एक महिला सहित २३ जनालार्इ पक्राउ पनि गरेकाे थियाे । प्रहरीले उनीहरुकाे बारेमा अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

मुलपानी स्थित तामाङ थरका एक व्यक्तिको घरमा लामो समयदेखि जुवा खेलाइने गरेकाे प्रहरीले सूचना पाएकाे थियाे । साे जुवाघरमा मदिरा सहितको खानेकुरा सित्तैमा सर्भ गरेर जुवा खेलाइने गरेकाे पनि थाहा हुन अाएकाे छ ।

Loading...