एनआरएनले जापानमा अध्ययनरत ३० जना नेपाली विद्यार्थीहरुलाई मासिक ३० हजार छात्रवृति दिने

कसले पाउलान छात्रवृति ?

टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले जापानमा भाषा कलेजमा अध्ययनरत ३० जना नेपाली विद्यार्थीहरुलाई छात्रवृति प्रदान गर्ने भएको छ ।

छात्रवृति प्रति विधार्थी मासिक ३० हजार जापानी येनका दरले उपलब्ध गराउन लागिएको एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामाले जानकारी दिए ।

गत जुन १९ तारिख एनआरएनए जापानका अध्यक्ष टासी वाङ्दी लामा र सेवामुलक क्षेत्रमा काम गरिरहेको इन्टरनेशनल ह्युमन रिसोर्स नेटवर्क (आईएचएनओ) सँग समन्वय गरेर संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमीयामाबीच भएको दोहोरो सम्झौतालाई कार्यान्वयन गर्दै पहिलो पटक संस्था मार्फत एनआरएनए जापानले ३० जना नेपाली जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको हो ।

आगामी दिनमा अझै थप गर्दै लैजाने अध्यक्ष टासी वाङ्दी लामाले बताए । नेपाली बिद्यार्थीहरू उच्चशिक्षा अध्ययनको लागि जापान आउने संख्या निकै बढिरहेको सँगसँगै बिद्यार्थीहरूमा दिन प्रतिदिन समस्या आउन थालेपछि बिद्यार्थीहरुको सहयोगका लागि यो कार्यक्रमको सुरुवात गरिएको एनआरएनए जापानका प्रवक्ता पर्शुराम बस्नेतले जानकारी दिए ।

छात्रवृत्तिका लागि आवेदन खुल्ला गरिएको र इच्छुक बिद्यार्थीले अक्टोवर १५ तारिखसम्म अनलाइन मार्फत आफ्नो बिवरण सहित आवेदन दिनसक्ने जनाईएको छ ।

जापानको जुनसुकै क्षेत्रमा भाषा स्कूल अध्ययनरत बिद्यार्थीले आवेदन दिन सक्नेछन । छात्रवृत्तिको लागि छनौट भईसकेपछि सम्बन्धित बिद्यार्थीको व्यक्तिगत बैंक खाता मार्फत प्रत्येक महिना ३० हजारका दरले रकम प्रदान गरिनेछ भने उक्त बिद्यार्थीले छात्रवृत्ति प्राप्त गर्न शुरू गरेपछि जापान सरकारको नियम अनुसार २८ घण्टा भन्दा बढी समय काम (आरुबाईतो) गर्न पाउने छैनन् ।

छात्रवृति छनौट गर्दा बिद्यार्थीको बायोडाटा, नेपालमा अध्ययन गरेको प्रमाणपत्र र हाल अध्ययनरत स्कुलको उपस्थिति विवरण र सम्बन्धित बिद्यार्थीको अनुशासन र लगनशीलताको बारेमा कलेजसँग सम्पर्क समेत गरेर सोधिने र छनौट प्रक्रिया पारदर्शी हुने प्रवक्ता बस्नेतले जानकारी गराए ।

विद्यार्थीले छात्रबृत्ति २०१८ डिसेम्वरसम्म प्राप्त गर्ने गरी कार्ययोजना बनाइएको छ ।

छात्रवृत्तिका लागि फाराम भर्न यहाँ क्लिक गर्नुहाेस्

छात्रवृत्ति फाराम

Loading...