३ किलो सुन बोकेको १ लाख ५० हजार आम्दानी !

काठमाडौं ।

सरकारले साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा नपुर्याई अनुसन्धान स्थगित गरेका बेला तस्करी अझै रोकिएको छैन। प्रहरीले बेला बेला सुन बरामद गर्दै आएको छ । यसै क्रममा सोमबार राजधानीको टोखाबाट दुई जनालाई ३ किलो सुनसहित प्रहरीले नियन्त्रणमा लियो ।

रसुवागढी–केरुङ नाकाबाट सुन भित्रिएको भन्ने सुराक पाएर महानगरीय प्रहरी परिसर काठमाण्डुको विशेष टोलीले सोमबार साँझ टोखा रोडको साइबाबा चोकमा बा ७३ प ३४०२ नम्बरको पल्सरमा सवार दुई जनालाई चेकजाँच गर्दा उनीहरुको शरीरबाट १२ टुक्रा (३ किलो) सुन भेटियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बरामद सुनको मूल्य १ करोड ५० लाख २० हजार ६९९ रुपैयाँ पर्न आउँछ ।

काठमाण्डु प्रहरी प्रवक्ता एसपी रामदत्त जोशीले रसुवा गोसाईकुण्ड १ का २४ वर्षीय नरबहादुर घले र सोही ठाउँका २० वर्षीय पेम्वा तामाङलाई अवैध सुनसहित विशेष टोलीले नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुसार रसुवामा घर बनाउने र ठेक्कापट्टाको काम गर्दे आएका दुबै जना भरिया हुन् । उनीहरुले १ किलो सुन तस्करी गरेवाफत ५० हजार रुपैयाँ पाउँछन् ।

‘सुन मालिकले १ किलो सुन पास गराए वापत ५० हजार रुपैयाँ दिँदो रहेछ’, एसपी जोशीले भने, ‘घले र तामाङले २ महिनामा दुईपल्ट गरी ३ किलो सुन ल्याई सकेको पाइयो ।’ जोशीले सुन व्यापारीको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । ‘सुनको मालिक को हो, कसले मगाएको भन्नेबारे अनुसन्धान जारी छ’, उनले भने ।

सुन तस्करमा संलग्नविरुद्ध भन्सार ऐन २०६४ को दफा ५७ (१)(ङ) अनुसार १ करोड रुपैँया भन्दा बढी ५ करोड रुँपैयासम्मको विगोमा १ वर्षदेखि ३ वर्षसम्म कैद हुने व्यवस्था छ ।

अनुसन्धानपछि दुबै जनालाई आवश्यक कानुनी कारवाहीको लागि राजस्व अनुसन्धान विभाग पठाइने परिसरले जनाएको छ ।

Loading...