नेप्सेमा दोहोरो अंकले वृद्धि, कारोबार एक अर्ब नाघ्यो

काठमाडौँ, ९ असोज । स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको सेयर कारोबार मापक नेप्से परिसुचक साताको तेस्रो दिन मङ्गलबार दोहोरो अंकले वृद्धि भएको छ।

नेप्सेसँगै कारोबार रकममा सुधार आएको छ। बजार परिसुचक २२ दशमलब ३७ अंकले वृद्धि भई १ हजार २ सय ८० दशमलब ५ बिन्दुमा पुगेको छ। बजार परिसुचक अघिल्लो दिनको तुलनामा १ दशमलब ७८ प्रतिशतले धेरै हो।

नेप्सेसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ। मङ्गलबार कूल १ सय ७३ कम्पनीको १ अर्ब १२ करोड १२ लाख ७७ हजार ३ सय १५ रुपैयाँ बराबरको ४४ लाख १७ हजार २ सय ३० कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ।

पछिल्लो समय सुधारउन्मुख देखिएको सेयर बजारमा मङ्गलबार ठूला र संस्थागत लगानीकर्ताले समेत बजारमा विस्तारै लगानी बढाउन थालेपछि कारोबारमा उच्च सुधार आएको हो।

बैंक तथा बित्तीय संस्थाहरुले मार्जिन कर्जालाई सहज बनाएपछि लगानीकर्तामा थप उत्साह जागेको छ। बजार बढ्दा ब्याजदर घट्ने आश पनि लगानीकर्तामा उत्तिकै छ।

मङ्गलबार नेप्सेमा कारोबार भएका ११ कम्पनी समूहमध्ये १० समूहका उपसुचकमा सुधार आएपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको हो। सबैभन्दा बढी निर्जीवन बीमा ६४ दशमलव ६५, विकास बैंक ३७ दशमलव ८२, जीवन बीमा ३७ दशमलव ३६, बैंक समुह २९ दशमलव ५२ अंकले बढेपछि बजारमा सुधार आएको हो। यीसँगै उत्पादन १० दशमलब ९४, लघुवित्त १० दशमलब ५५, जलविद्युत ७ दशमलब ३४, वित्त ५ दशमलब ५९ र व्यापार २ दशमलब ७९ अंकले वृद्धि भएको छ।

मङ्गलबार नेपाल टेलिकम आबद्ध अन्य समूहमा भने १ दशमलव ४६ अंकको सामान्य गिरावट आएको छ।

Loading...