दरबार हत्याकाण्डका अर्का प्रत्यक्षदर्शीको मृत्यु

काठमाडौं । राजा वीरेन्द्रका परिवारका सबै सदस्यको ज्यान जाने गरी भएको राज दरवार हत्याकाण्डका अर्का एक प्रत्यक्षदर्शीको पनि मृत्यु भएको छ।

१९ जेठ २०५८ मा दरवारमा आयोजित रात्रिभोजका एक शाही निम्तालु महेश्वर कुमार सिँहको २ असोजमा ८४ को बर्षको उमेरमा निधन भएको हो।

भारतको रजौटाका सन्तानसमेत रहेका सिँहको राजा त्रिभुवनकी दर्जनमध्येकी एक रानीकी छोरी विमला राज्यलक्ष्मीसँग विहे गरेका थिए।

राजाकी छोरीसँग विहे गरेकाले उनलाई दरवारले ‘कुमार’ को उपाधि दिएको थियो। यसै हैसितमा उनी १९ जेठ (०५८) को त्यो रात्रिभोजमा निम्त्याइएका थिए।

‘कुमार’ महेश्वरका अलावा राजदरवारमा आयोजित सो रात्रिभोजमा उनकी पत्नी विमला पनि निम्त्याइएकी थिइन् र दुबै जना रात्रिभोजमा सरिक थिए।

दरवार हत्याकाण्डका प्रत्यक्षदर्शीसमेत रहेका महेश्वर पत्नी विमलाको पनि दुई बर्षअघि नै निधन भइसकेको छ। सिँह पछिल्लो समय महाराजगञ्जमा बस्दै आएका थिए।

समयक्रममा दरवार हत्याकाण्डका प्रत्यक्षदर्शीहरुको एकपछि अर्काे गर्दै घट्दै गएका छन्। ३ बर्षअघि अर्का प्रत्यक्षदर्शी रवी शमशेरको निधन भएका थियो।यसैगरी अर्की प्रत्यक्षदर्शी पूर्व अधिराजकुमार हेलेन शाहको पनि केही बर्षअघि नै निधन भइसकेको छ।

राजनीतिक दलहरुले दरवार हत्याकाण्डको पुन छानविन गर्नुपर्ने माग गरेपनि आफू सत्तामा भएका बेला भने यो विषयले प्राथमिकता पाउन सकेको छैन। तर, हत्याकाण्डका प्रत्यक्षदर्शीहरुको उमेरका कारण एक पछि अर्काे गर्दै मृत्यु हुँदै जान थालेपछि प्रत्यक्षदर्शीहरुको संख्यापनि घट्दै गएको छ।

१९ जेठ (०५८) मा भएको सो हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र अधिराजकुमार निराजन र अधिराजकुमारी श्रुतिको मृत्यु भएको थियो। यसैगरी राजपरिवारका अन्य ६ जना नातेदारहरु पनि सो घटनामा मारिएका थिए।

Loading...