दशैंको मुखमा सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो

काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । चाडबाडको मुखमा चारैतिर बढ्ने महंगीलाई नियन्त्रण गर्न सर्वसाधारणले माग गरिरहेको बेला सरकारले भने सार्वजनिक यातायातको भाडामा भारी बृद्धि गरेको छ ।

यातायात व्यवसायीहरूले भाडा बढाउन माग गर्दा सरकरले १० प्रतिशत भाडा बढाएको छ । यातायात व्यवसायीसँग सरकार झुकेको आरोप लागेको छ । एकै पटक १० प्रतिशत बृद्धि गर्नु भनेको सर्वसाधारणको ढाँड सेक्ने काम भएको उपभोक्ता अधिकारकर्मीहरुले बताएका छन् ।

सरकारले दशैको मुखमा इन्धनको मूल्य बढाएसँगै यातायात व्यवसायी मौकाको फाइदा उठाउन अग्रिम बुकिङ समेत खुला गरेका थिएनन् ।
शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । आजबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो । योसँगै सिण्डकेटधारीका खाता खुला गरिएको रुपमा लिइएको छ ।

२०७५ असोज ७ मा प्रकाशित ।

Loading...