महान्यायाधिवक्त विरुद्ध किन खनिए ट्रम्प ?

वासिंटन । 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सप्रति तिखो प्रहार गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताएका छन् ।

अमेरिकाको हिल टिभीलाई दिएको अन्तर्वातामा राष्ट्रपति ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी चुनावमा रुसी हस्तक्षेपको छानबिनबाट अलग बस्ने महान्यायाधिवक्ता सेसन्सको निर्णयको आलोचना गर्दै आफ्नो कोही पनि महान्यायाधिवक्ता नरहेको बताएका हुन् । उनले सेसन्सले उठाएको प्रवासीको मुद्दाप्रति पनि असन्तुष्टि व्यक्त गरे ।

राष्ट्रपति ट्रम्पले गरेको आलोचनाप्रति सेसन्सले कुनै प्रतिक्रिया दिएका छैनन् । कुनै पनि सत्तासिन राष्ट्रपतिले आफ्ना महान्यायाधिवक्ताको आलोचना गर्नुलाई असामान्य मानिन्छ । आलोचकहरुले भने ट्रम्पले कानुनी व्यवस्थामा हस्तक्षेप गर्ने कोशिस गरेको आरोप लगाएका छन् ।

अघिल्लो महिना पनि राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्ता सेसन्सको आलोचना गरेका थिए । त्यसपछि रिपब्लिकन पार्टीका दुई सिनेटरले आगामी नोभेम्बरमा हुने मध्यावधी चुनावपछि सेसन्सलाई बर्खास्त गरेमात्र ट्रम्पलाई समर्थन गर्न सकिने बताएका थिए ।

तर, रिपब्लिकन पार्टीका अन्य नेताहरुले भने ट्रम्पको कदम गलत भएको र महान्यायाधिवक्तालाई समर्थन गर्नुपर्ने बताएका छन् । यसअघि सेसन्सले ट्रम्पको अभिव्यक्तिको जवाफ दिँदै आफू महान्यायाधिवक्ताका रुपमा रहेसम्म न्याय विभागमा कुनै पनि गलत राजनीतिक हस्तक्षेप हुन नदिने बताएका थिए । (एजेन्सी)

२०७५ असोज ४ मा प्रकाशित ।

Loading...