बाँकेमा पनि वामदेवका लागि बाटो बन्द, रोकाले राजीनामा नदिने

काठमाडौं । 

नेकपाका नेता बामदेव गौतमका लागि सांसद पदबाट राजीनामा दिने भनेका बाँके –३ का सांसद नन्दलाल रोका क्षेत्रीले राजीनामा नदिने बताएका छन् ।

‘बामदेव कमरेडसँग यस विषयमा मेरो कुनै कुरा भएको छैन । पार्टीका अरुकसैसँग पनि कुरा भएको छैन ।’ सांसद रोकाले भने,‘ मसँग कसैले राजीनामा मागेको पनि छैन, कसैले मागेर राजीनामा पनि दिन्न ।’ 

आफूले राजीनामा दिन लागेको भनेर चलाइएको हल्ला निराधार रहेको उनले बताए । उनले थपे ,‘मैले राजीनामा दिँदैछु भनेर चलाइएको हल्ला मैले पनि सुने, तर यो वाइयात कुरा हो ।’

बामदेव पछिल्लो समय उपनिर्वाचनमार्फत सांसद बन्ने ध्याउन्नमा छन् । उनले पूर्वी रुकुममा पनि छलफल अगाडि बढाएका थिए । तर, त्यहाँकी सांसद कमला रोक्काले पूर्वी रुकुमबाट कुनै हालतमा राजीनामा नदिने बताएपछि गौतम पछि हटेका थिए ।

त्यतिबेला सांसद रोक्काले बामदेवले पूर्वी रुकुममा आउनु भनेको ‘तातो खरानीमा खुट्टा हाल्नु सरह’ भएको प्रतिक्रिया दिएकी थिइन् । रोक्काले बामदेवलाई जनमत स्विकारेर जनताको पक्षमा काम गर्न सुझाएकी पनि थिइन् ।

यस्तै रोका क्षेत्री र कमला रोक्काले राजीनामा नदिने भएपछि बामदेवका लागि सांसद हुने बाटो सो क्षेत्रबाट बन्द भएको थियो । यसअघि डोल्पाका सांसद धनबहादुर बुढाले राजीनामा दिने भनिएपनि अन्तिम समयमा आएर नदिने घोषणा गरेका थिए ।

पर्यटन राज्यमन्त्रीसमेत रहेका बुढालाई प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिन दबाब दिएपछि रोकिएका थिए । यस्तै बुढाकै निर्वाचन क्षेत्रका मतदाताले पनि राजीनामा दिए निर्वाचन नै बहिस्कार गर्ने चेतावनी पनि दिएका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

२०७५ असोज ३ मा प्रकाशित ।

Loading...