चीन भ्रमणमा हिडेका प्रचण्ड बीच बाटोबाटै काठमाडौं फर्किदै, यस्तो छ कारण

काठमाडौं । 

चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नै नदिएर चीन पुगेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बाटोबाटै स्वदेश फर्कने भएका छन्

स्रोतका अनुसार ‘प्रचण्ड’ बेइजिङ नपुगी बीच बाटोबाट फर्किने भएका हुन् । राजनीतिक भ्रमण भनिए पनि ‘प्रचण्ड’ प्रादेशिक नेतासँगको भेटवार्तामै सीमित भएका छन् । प्रादेशिक नेताहरूसँग भेट गरेर उनी स्वदेश फर्कनेछन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेट हुने भए मात्र बेइजिङ जाने ‘प्रचण्ड’ले बताएको स्रोतले जनाएको छ । ‘प्रचण्ड’ले आफ्नो चीन भ्रमणका विषयमा अहिलेसम्म बेइजिङस्थित नेपाली राजदूतावासलाई कुनै पनि जानकारी दिएका छैनन् । यद्यपि, ‘प्रचड’लाई स्वागत गर्न चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल शनिबार ग्वाञ्जाओ आएका थिए ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार ‘प्रचण्ड’को बेइजिङ भ्रमणबारे चीनका लागि नेपाली राजदूतावासलाई कुनै जानकारी नै छैन ।

राजदूत पौड्याल ग्वाञ्जाओ आए पनि चिनियाँ पार्टीले भेटबारे नेपाली राजदूतावासलाई जानकारी दिएको छैन । पूर्वप्रधानमन्त्रीको भ्रमण हुँदा सम्बन्धित देशको राजदूतावासलाई जानकारी दिने प्रचलन छ ।

‘प्रचण्ड’भन्दा अघिल्लो दिन चीन प्रस्थान गरेका ‘नेकपा’का प्रवक्ता नारायणकाजी श्रेष्ठ मंगलबार बेइजिङ पुग्नेछन् । श्रेष्ठ तेञ्जिनबाट मंगलबार बेइजिङ पुगेको पनि नेपाली दूतावासलाई जानकारी छैन । श्रेष्ठ पूर्वपरराष्ट्रमन्त्री पनि हुन् । श्रेष्ठ पनि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा बेइजिङ गएका हुन् ।

‘प्रचण्ड’ले आइतबार चिनियाँ क्रान्तिका ऐतिहासिक स्थलको अवलोकन गरेका छन् । सन् १९४५ मा चीनको येनान प्रान्तमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको सातौं महाधिवेशन स्थल र येनानमा सन् १९३८ देखि १९४५ सम्म रहेका माओले पहाड खोलेर बनाइएको घरको ‘प्रचण्ड’ले अवलोकन गरेका थिए ।

चीन भ्रमणमा ‘प्रचण्ड’ले पत्नी सीता दाहाल, कान्छी छोरी गंगा दाहाल आचार्य, गंगाकी छोरी (नातिनी) र स्वकीय सचिव जोखबहादुर महरालाई लिएर गएका छन् ।

Loading...