शान्ति स्थापनार्थ खटिएका नेपाली सेनामाथि गोली प्रहार, एक जना घाइते

काठमाडौं । 

दक्षिण सुडानमा शान्ति स्थापनार्थ तैनाथ नेपाली शान्तिसेनामाथि गोली प्रहार गर्दा एकजना घाइते भएका छन् ।

समाचार अनुसार गत शनिबार बिहान एई क्षेत्रमा पानी लिन गएको शान्तिसेनाको चारमध्ये एउटा गाडीमा एकजना सरकारी सुरक्षाकर्मीले गोली चलाएका थिए ।चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार गोली चलाएपछि ती सरकारी सुरक्षाकर्मी भागेका थिए । उनले चलाएको गोली लागेर एकजना नेपाली सेना जवान घाइते भएका सैनिक प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए ।

भण्डारीका अनुसार खुट्टामा गोली लागेका सैनिकको अवस्था खतरामुक्त रहेको छ। संयुक्त राष्ट्रसंघीय मिसनका प्रमुख तथा महासचिवका विशेष प्रतिनिधि डेभिड सियररले विज्ञप्ती निकालेर यो घटनाको निन्दा गरेका छन् ।‘संयुक्त राष्ट्रसंघको शान्तिसेना दक्षिण सुडानमा शान्ति स्थापना गर्न आएका हुन्’, उनले भनेका छन्, ‘उनीहरुमाथिको आक्रमण स्वीकार्य हुँदैन । आक्रमणमा संलग्नमाथि सुडान सरकारले कारबाही चलाओस ।’

आफ्ना सेना घाइते भए पनि नेपाली सेनाले संयम्ता अपनाउँदै जबाफी फायरिङ नगरेको बताइएको छ । शान्तिसेनाले सर्वसाधारणलाई बचाउन गोली नचलाएको सियररले भनेका छन् ।गोली लागेपछि नेपाली शान्ति सैनिकलाई त्यहीँबाट एयरलिफ्ट गरेर उपचारका लागि राजधानी जुबा लगिएको उनले जानकारी दिएका छन् । सुडानबाट टुक्रिएर बनेको दक्षिण सुडान अहिले आन्तरिक द्वन्दमा फसेको छ । हिंसाका कारण दक्षिण सुडानका ४० लाख भन्दा धेरै जनता विस्थापित भएका छन् ।

Loading...