ओली सरकारको ज्यादतीबिरुद्ध भोली उदयपुर बन्द, इन्चार्ज-सेक्रेटरीले गरे यस्तो आव्हान (विज्ञप्तिसहित)

काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी उदयपुरले भदौ ३१ गते जिल्ला बन्दको घोषणा गरेको छ ।

उक्त पार्टीका जिल्ला इन्चार्ज बाबुराम र सेक्रेटरी प्रशान्तले शनिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीका नेताकार्यकर्तालाई गैर न्यायिक गिरफ्तार गरी यातना दिने झुट्ठा मुद्दा लगाई फसाउने षड्यन्त्रका विरुद्धमा यही भदौ ३१ गते उदयपुर जिल्ला बन्दको आह्वान गरेका छन् ।

सम्पूर्ण उद्योगी, व्यवसायी, कर्मचारी, मजदुर र जनतालाई आफ्नो उद्योग, व्यापार, कलकारखाना, संघसंस्था, शिक्षण संस्था, यातायातलगायत सम्पूर्ण कार्यालयहरु बन्द गरी सहयोग गर्न अनुरोध गरेका छन् । इन्चार्ज र सेक्रेटरीले सम्पूर्ण उदयपुरवासीलाई न्यायको पक्षमा उभिनसमेत अपिल गरेका छन् ।

यस्तै शुक्रबारर सर्वोच्च अदालतको आदेशमा रिहा भएलगत्तै गिरफ्तार परेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई समेत प्रहरीले उदयपुर पुर्याएको छ ।

गैरकानूनी रुपमा थुनामा राखको भन्दै विरेन्द्र विश्वकर्माले रिहाइको माग गर्दै दायर गरेको रिटमाथि न्यायाधीश अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले प्रकाण्डलाई शुक्रबार नै अदालतको मुख्य रजिष्ट्रारको रोहवरमा छाड्न आदेश दिएको थियो । तर प्रहरीले प्रकाण्ड र पोलिटब्युरो सदस्य उमा भुजेल दुवैलाई रिहा लगत्तै पक्राउ गरेको थियो ।

रिहापछि प्रकाण्डको यो पाँचौ पटकको गिरफ्तारी हो । पटक पटक सर्वोच्चको आदेशमा रिहाई हुँदै आएका प्रकाण्डलाई तत्कालै सरकारले पटकपकट गिरफ्तार गरी थुनामा राख्ने गरेको विषयमा सर्बोच्चले यसअघि नै चासो ब्यक्त गरेको छ । यसैबिच प्रकाण्डले सरकारले सार्वजनिक गरेको वार्ता टोली हैसियतविहीन भएको बताउँदै वार्ता गर्न नसकिने बताएका छन् ।

साथै प्रकाण्डले सरकारसँग वार्ता गर्नुको कुनै औचित्य र अर्थ नभएको भन्दै आफनो पार्टीका दर्जनौं नेता कार्यकर्तालाई झुठा आरोपमा जेलमा राखेर वार्ताको आह्वान गर्नु हास्यास्पद मात्र भएको समेत बताएका छन् । सर्वोच्च अदालतमा परिसरमा पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रकाण्डले यस्तो बताएका हुन् ।

हेर्नुहोस् विज्ञप्ति

२०७५ भदौ ३० गते प्रकाशित

Loading...