प्रधानसेनापति थापालाई दर्ज्यानी चिन्ह प्रदान, सम्हाले कार्यभार

काठमाडौँ । 

कायम मुकाय प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले आइतबार नेपाली सेनाको महारथी (प्रधानसेनापति) को दर्ज्यानी चिन्ह पाएका छन् । 

नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार थापालाई दज्र्यानी चिन्ह प्रदान गरेकी हुन् । मन्त्रिपरिषदको बैठकले भदौ २५ गतेबाट लागु हुने गरी थापालाई प्रधानसेनापतिमा नियुक्तका लागि राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको थियो ।

१२ भदौमा नै राष्ट्रपति भण्डारीले थापालाई नेपाली सेनाको प्रधानसेनापतिको रुपमा नियुक्त गरिसकेकी छन् । प्रधानसेनापति थापाले आजै औपचारिक रुपमा कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’, प्रधानमन्त्री केपी शर्मा ओली लगायतको सहभागीता थियो ।

थापालाई गत साउन १० गतेको मन्त्रिपरिषद बैठकले प्रधानसेनापतिमा नियुक्त गर्ने निर्णय गरेको थियो । अघिल्ला प्रधानसेनापति राजेन्द्र क्षेत्रीले भदौ २४ गतेबाट अवकाश पाउने भएपछि एक महिनाअघि नै विदा बसेका थिए । विगतको प्रचलन अनुसार विदा बस्नुअघि क्षेत्रीले थापालाई कार्यभार हस्तान्तरण गरेका थिए ।

क्षेत्रीको कार्यकाल भदौ २४ बाट औपचारिक रुपमा सकिएकाले नेपाली सेनाको कमाण्ड औपचारिक रुपमा थापाको हातमा आएको छ । निवर्तमान प्रधानसेनापति राजेन्द्र क्षत्रीले थापालाई सेनाको कमाण्ड हस्तान्तरण गरेर बिदामा बसेका थिए । शुक्रबार क्षेत्रीको बिदाईपछि आईतबार दज्र्यानी सुशोभन समारोह आयोजना भएको हो ।

नेपाली सेनामा नेपालबाटै स्टाफ कलेज गर्ने थापा पहिलो प्रधानसेनापति बन्ने सौभाग्य प्राप्त गरेका छन् । उनलाई प्रधानसेनापति क्षत्रीले नै भावी प्रधानसेनापतिका रुपमा अघि बढाएका थिए । २ वर्षे शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा गएका उनलाई एक वर्षमै फिर्ता बोलाइएको थियो ।

रथी थापा सेनाको तर्फबाट विदेशमा फोर्स कमाण्डर हुने थोरै अधिकृतमध्ये पर्छन् । यसअघि फोर्स कमाण्डरको जिम्मेवारी बालानन्द शर्मा, पवनजंग थापा, कृष्णनारायण सिंह थापा र भिक्ट्री राणाले पाएका थिए । २०३७ सालमा सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरेका थापाले गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भएर काम सुरु गरेका थिए ।

सेनामा मध्यमतहको कमाण्डरले गर्नु पर्ने स्टाफ कलेज नेपालबाटै गरेका उनले भारतको दिल्लीबाट २००९ मा नेशनल डिफेन्स कोर्स गरेका थिए । उनले मद्रास विश्वविद्यालयबाट नै फिलोसोफी इन डिफेन्स एण्ड स्ट्रटेजिक स्ट्डीजमा स्नातकोत्तर गरेका छन् । रथी थापाले श्रीजंग गुल्मको गुल्मपति, श्रीजंग गणको गणपति, २ नम्बर वाहिनीको बाहिनीपति र उपत्यका पृतनाको पृतनापतिको रुपमा काम गरीसकेका छन् ।

उनले सैनिक मुख्यालयमा जनरल स्टाफ अधिकृत, सैनिक शिक्षालय नगरकोटमा शिक्षक अधिकृत तथा डाईरेक्टिङ्ग स्टाफ, सेनाको महत्वपूर्ण नियुक्ति मानिने सैनिक सचिव र कल्याणकारी निर्देशक कार्यरथी तथा संभाररथी विभागको प्रमुख शान्ति सेना सञ्चालन निर्देशनालय, बलाध्यक्षको कार्यालय, बलाधिकृतको कार्यलय लगायतका नेपाली सेनाभित्रका सबैजसो महत्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यलय तथा विभागहरुको नेतृत्व सम्हालेका थिए ।

थापाले संयुक्त राष्ट्र संघमा पटक पटक गरी लामो समय सेवा गरी यथेष्ठ अनुभव हासिल गरेका छन् । थापाले सन् १९८६ मा युनिफिल मिसन लेवनानमा नेपाली कन्टिन्जेन्टमा सेमुपति, सन् १९८९ मा युनिफिल मिसन मुख्यालयमा अपरेशन डिउटी अधिकृतको रुपमा काम गरेका थिए ।

त्यसैगरी, सन् १९९४ देखि १९९५ सम्म सैनिक पर्यवक्षेकको भूमिकामा अनप्रोफर (पूर्व युगोस्लाभिया हाल बोस्निया–हर्जगोभिनिया र क्रोयशिया) मिशनमा सफल भूमिका निर्वाह गरेका थिए । संयुक्त राष्ट्र संघको उच्चतहको अनुभव बटुल्ने क्रममा थापाले सन् २००९ देखि २०११ सम्म नेपाल सरकार र नेपाली सेनाको प्रतिनिधित्व हुनेगरी युनाईटेड नेशन्स मिशन ईन नेपाल (जेएमसिसी) को संयुक्त अनुगमन समन्वय समितिको उपप्रमुखको रुपमा काम गरेका थिए । थापा २०१७ साल भदौ २५ गते लम्जुङमा जन्मिएका हुन् ।

Loading...