आज कुशे औँशी तथा बाबुको मुख हेर्ने दिन

काठमाडौं । 

भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।

शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कशु त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।

सनातन धर्मावलम्वीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न गराएको धार्मिक विश्वास छ ।

यसैबीच, यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

बिहानैदेखि राजधानीको उत्तरपूर्वमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत पितृप्रति तर्पण, पिण्डदान र श्राद्ध गर्ने भक्तजनको भीड लागेको छ ।

पितृ तीर्थधाम एवं उत्तरगया भनेर चिनिने यस स्थलमा आई आज तर्पण, पिण्डदान र श्राद्ध गरे घर, मामाघर र ससुरालीतर्फका २१ पुस्तासम्मका पितृ तर्दछन् भन्ने धार्मिक विश्वास छ ।

यही विश्वासमा देशका विभिन्न भागबाट आएका लाखौँ भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी जगदीश भट्टले जानकारी दिए ।

आज बिहान ८ बजेसम्म मघा तिथि रहेकाले त्यसपछि तीर्थ श्राद्ध गर्न सकिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । वैदिक सनातन हिन्दू र बौद्ध धर्मावलम्बी आफ्ना दिवङ्गत पितृप्रति श्रद्धा भक्तिपूर्वक जलदान एवं पिण्डदान गर्न आज यहाँ भेला भएका छन् ।

यसैगरी रसुवाको वेत्रावतीमा पनि भक्तजनको लर्को लाग्छ ।

‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ रहेको धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । अरु दान दीन दुःखीलाई दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

Loading...