सुजुकी कप फुटबल: नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दै, जित्नैपर्ने दबाव

काठमाडौं ।

बंगलादेशमा जारी साफ सुजुकी कप फुटबलको आफ्नो दोस्रो खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनलमा पुग्ने आफ्नो सम्भावनालाई जिवितै राख्नका लागि आजको खेल नेपालले जित्नै पर्ने हुन्छ ।

बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले स्थानीय समयअनुसार ४ बजे भुटानसँग प्रतिस्पर्धा गर्न लागेको हो । पहिलो खेलमै पाकिस्तानसँग २-१ गोलअन्तरले पराजित भएको नेपाललाई जित्नैपर्ने दबाव छ ।

नेपालका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भुटानविरुद्ध जितको विकल्प नभएको बताए । त्यसो त, नेपाली फुटबल टिमका कप्तान विराज महर्जन पनि भुटानलाई पराजित गर्दै अघिल्लो चरणमा पुग्ने सम्भावनालाई जिवितै राख्ने बताउँछन् ।

साफ च्याम्पियनसिपमा नेपाल र भुटानबीच अहिलेसम्म दुई पटक भेट भएको छ । सन् २००३ मा बंगलादेशको राजधानी ढाकामा सम्पन्न साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई २-० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै, सन् २००५ मा पाकिस्तानको कराँचीमा सम्पन्न साफ च्याम्पियनसिपमा भुटानलाई नेपालले ३-१ गोलअन्तरले पराजित गरेको थियो ।

यो पटक पनि बंगलादेशको ढाकामा साफ च्याम्पियनसिपको पहिलो खेलको सम्झनामा नेपाली टिम हुनेछ र त्यही अनुसारको नतिजा निकाल्ने रणनीतिमा रहेको छ ।

नेपाली फुटबल टोली अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पुग्न सकेको छैन । यसअघिका प्रतियोगितामा नेपाल चार पटक सेमिफाइनलमा पुगेको छ । मंगलबार सुरु भएको जारी संस्करणको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २–१ ले पराजित भएको थियो ।

प्रतियोगितामा आयोजक बंगलादेशसहित भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी सात राष्ट्रको सहभागिता रहेको छ । नेपालसहित बंगलादेश, पाकिस्तान र भुटान समूह ‘ए’मा छन् । त्यस्तै भारत, माल्दिभ्स र श्रीलंका समूह ‘बी’ मा छन् ।

२०७५ भदौ २१ मा प्रकाशित ।

Loading...