हङकङसँग पराजित हुँदै नेपाल एसिया कपबाट बाहिरियो

काठमाडौं ।

मलेसियामा जारी एसिसि एसिया कप छनोटमा हङकङसँग ३ विकेटले पराजित हुँदै नेपाल एसिया कप बाहिर भएको छ। मंगलबार नेपालले दिएको ९६ रनको झिनो लक्ष्य हङकङले ३२.३ ओभरमा ७ विकेट गुमाउँदै भेट्टायो।

हङहङका लागि अंशुमन रथले सर्वाधिक ५२ रन बनाए। ८२ बल खेलेका रथले ३ चौका र १ छक्का प्रहार गरेका थिए। किञ्चित साहले ११ रन बनाउनु बाहेक अन्य हङकङका खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्।

नेपालका सन्दिप लामिछानेले सर्वाधिक ५ विकेट लिए। बसन्त रेग्मी र सागर पुनले १-१ विकेट लिए। १० ओभर बलिङ गरेका सन्दिपले २ मेडन राख्दै २७ रन खर्चिएर ५ विकेट लिएका थिए।

यो सँगै सन्दिपले लिस्ट ए मा २५ खेलबाट ५५ विकेट लिएका छन्। लिस्ट ए मा सबैभन्दा बढी विकेट लिएका सोमपाल कामीले ४० खेलबाट ५८ विकेट लिएका छन्।

एक दिवसीयमा ३ खेल खेलेका सन्दिपले ८ विकेट लिएका छन्। यसअघि पहिले ब्याटिङ गरेको नेपालले खराब प्रदर्शन गर्दै ३७.५ ओभरमा अल आउट हुँदै ९५ रन बनाएको थियो।

Loading...