‘क्रान्तिकारी सन्त’ तरुण सागरको निधन

काठमाडौं ।

‘क्रान्तिकारी सन्त’ भनेर चिनिने भारतका जैन मुनि तरुण सागरको निधन भएको भएको छ । उनी लामो समयदेखि जण्डिस रोगबाट पीडित थिए ।

भारतीय समयअनुसार शनिबार बिहान सवा तीन बजे दिल्लीको शाहदरास्थित कृष्णानगरमा निधन भएको भारतीय समाचार माध्यमहरुले जनाएका छन् ।

लामो समयदेखि औषधिको असर देखिन छाडेपछि उनले थप उपचार गर्न इन्कार गरेका थिए । त्यसपछि उनको इच्छाअनुसार नै कृष्णानगरमा लगिएको थियो । उनको शव यात्रा दिल्लीको राधेपुरबाट सुरु हुने छ र २८ किलोमिटरको दूरी पार गर्दै दिल्लीको मेरठ हाइवेस्थित तरुणसागर तीर्थस्थलमा अन्तिम संस्कार गरिने छ ।

तरुण सागर कडा प्रवचनका कारण चर्चित थिए । उनी निर्बस्त्र हुन्थे । शरीरमा एकसरो कपडा समेत नलगाएरै उनले भारतका धेरै विधानसभामा पनि प्रवचन दिएका छन् ।

उनले हरियाणा विधानसभामा दिएको उनको प्रवचनलाई लिएर विवाद भएको थियो । हरियाणाको प्रवचनको विषयमा संगीतकार विशाल डडलानीले एक टि्वट गरेपछि निकै हंगामा मच्चिएको थियो । यद्यपि पछि विशालले माफी मागे र यसै विवादका कारण डडलानीले राजनीति पनि त्यागे ।

जैन मुनि तरुण सागर मध्य प्रदेशका हुन् । उनको जन्म २६ जून १९६७ मा दमोहमा भएको थियो । उनले ८ मार्च १९८१ मा गृहस्थ जीवन त्यागेर छत्तिसगढमा दीक्षा लिन गएका थिए ।

उनले दिने कडा प्रवचनका कारण उनलाई ‘क्रान्तिकारी सन्त’ भनिन्थ्यो । ‘कडवे प्रवचन’ नामक उनको पुस्तक निकै प्रचलित छ । समाजका बिभिन्न वर्गलाई एकजुट गराउन भूमिका खेलेका उनले जनसंख्या नियन्त्रण गर्न पनि सुझाव दिने गर्दथे ।

दुई भन्दा बढी बच्चा जन्माउन रोक लगाउनुपर्ने उनको सुझाव थियो । त्यसका लागि कडा कानुन बनाउनुपर्ने र कानुन उल्लंघन गर्नेलाई सबै सरकारी सुविधाबाट बञ्चित गराउनुपर्ने उनले सुझाव दिने गर्दथे ।

Loading...