आलोचकमाथि कठोर भएको भन्दै इन्टरनेशनल सोसलिस्ट युथले गर्यो नेपाल सरकारको आलोचना

काठमाडाैं । इन्टरनेसनल युनियन अफ सोसलिस्ट युथ (आइयुएसयु) ले नेपालमा पछिल्लो समयमा भइरहेका मानवअधिकार उल्लंघनका घटनाहरुको भर्त्सना गरेको छ।

पछिल्लो समय कञ्चनपुरमा प्रहरीको गोली लागी एक किशोरको ज्यान गएको घटनाको आइयुएसयुले भर्त्सना गरेको हो।

प्रदर्शनकारीहरु १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिन र न्यायको माग गरिरहेका बेला गोली चलेको हो। नेपाल विद्यार्थी संघको नेतृत्वमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको पनि आइयुएसयुले उल्लेख गरेको छ। घटनामा कञ्चनपुर भगतपुरका १७ वर्षीय सनी खुनाको ज्यान गएको थियो भने अन्य २४ घाइते भएका थिए।

सात नम्बर प्रदेशका चर्चित नेता तथा नेकपाका हस्ती भीम रावलले पनि उक्त घटनामा निर्मला पन्तलाई न्याय दिन कुनै कदम नचालेको आइयुएसयुले उल्लेख गरेको छ। उनले उल्टै नेपाली कांग्रेसलाई बलात्कारबिरुद्ध प्रदर्शन गरेर सरकारबिरुद्ध गएको आरोप लगाएका थिए। यद्यपि उक्त प्रदर्शनका कञ्चनपुरका स्थानीय सहभागी भएको पनि आइयुएसयुले उल्लेख गरेको छ।

घटनालाई ढाकछोप गर्न सरकारले नक्कली अभियुक्त खडा गरेको पनि आइयुएसयुले आरोप लगाएको छ। सरकारले वास्तविक दोषीलाई लुकाउन खोजेको पनि आइयुएसयुले उल्लेख गरेको छ।

सरकारले आफ्ना आलोचकहरुप्रति रुखो व्यवहार प्रदर्शन गरेको पनि आइयुएसयुले उल्लेख गरेको छ। यसअघि डा. गोविन्द केसीको स्वास्थ्य क्षेत्र सुधारका मागहरुको समर्थन गर्दै सडकमा ओर्लिएकाहरुप्रति पनि सरकार कठाेर बनेको आइयुएसयुले उल्लेख गरेको छ। नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतलाई उक्त घटनामा प्रहरीले तारो बनाएको पनि आइयुएसयुले उल्लेख गरेको छ। घटनामा घाइते बस्नेत सिभिल अस्पतालमा उपचारपछि घर फर्केका थिए।

आइयुएसयुले नेपालमा न्याय र प्रजातन्त्रका लागि युवाले गरेको आन्दोलनमा एेक्यबद्धता पनि जनाएको छ। आइयुएसयुले सरकारलाई प्रदर्शनकारीहरुबिरुद्ध हिंसात्मक नहुन, निर्मला पन्त हत्याकाण्डमा कारबाही गर्न र स्वतन्त्र अनुसन्धान गर्न, राजनीतिक आलोचकप्रति कडा व्यवहार नगर्न र मानवअधिकारका कानुन पालना गर्न आग्रहसमेत गरेको छ।

हेर्नुहाेस अाइयुएसयुले प्रकाशन गरेकाे सामग्री

IUSY to the Nepali government: stop the violence against youth protesters!

Loading...