मुलुकी एेनको नयाँ संस्करण विरुद्ध आइतबार देशभरका अस्पताल बन्द गरिने

काठमाडौं । भदौ १ गतेदेखि लागू गरिएको मुलुकी ऐनले विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न भएको भन्दै चिकित्सकहरुले आगामी आईतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् ।

सरकारलाई सच्याउन आग्रह गर्दै उनिहरुले सांकेतिक रुपमा एक दिनका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट ओपिडी सेवा नदिने चिकित्सक संघले जनाएको छ । संघका महासचिव डा. लोचन कार्कीले आकस्मिक स्वास्थ्य सेवा भने संचालन हुने बताए ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको व्यवहार गरेको चिकित्सक संघको ठहर रहेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले सरकारले चिकित्सकलाई अपराधिको सुचिमा राखेको भन्दै यस्तो अवस्थामा विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न गर्ने भएकाले आईतबार सेवा दिन नसक्ने जनाएको छ ।

संघले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिबद्धता जारि गरेका कारण भदौ १५ गते सम्म संशोधन प्रक्रियाका लागि आन्दोलन स्थगित गरिएको थियो । देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले विद्यमान अवस्थामा काम गर्न नसक्ने भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको हस्ताक्षर संकलनका साथै ५ हजार काउन्सिल प्रमाणपत्र नेपाल मेडिकल काउन्सिललाई बुझाउने क्रम निरन्तर जारी रहेको महासचिव कार्कीले बताए ।

ऐन संशोधनको प्रकृया अगाडी नबढाएको तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ बनिसके पनि चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमणका घटना दिनानुदिन बढिरहेकोले यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्नका लागि बिना धरौटी जेल चलानको प्रावधान थप नगरिएको विद्यमान अवस्थामा स्वास्थ्य सेवा संचालन गर्न नसक्ने ठहर विज्ञप्तीमा गरीएको छ ।

यस्ता छन आन्दोलनका कार्यक्रम
o १८ भाद्र २०७५ सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने ।
o १९ भाद्र मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा विरामी भर्ना गर्ने कार्य बन्द गर्ने ।
o २० भाद्र बुधबारदेखि आकस्मिक सेवा बाहेकका अन्य अपरेसनहरु बन्द गर्ने ।
o २१ भाद्र बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने ।
o २२ भाद्र शुक्रबार देखी आकस्मिक बाहेकका ओपिडी लगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने ।

Loading...