बिमस्टेकमा मोदीले अघि सारे यस्तो प्रस्ताव, होलान त अरु राष्ट्रप्रमुख सहमत ?

काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास -बिमस्टेक) सदस्य देशहरूका लागि विभिन्न प्रस्ताव अघि सारेका छन् ।

काठमाडौंमा बिहिवार चौथो बिमस्टेक शिखर सम्मेलनको उदघाटन गर्दै मोदीले महिला सांसद्हरूका लागि बिमस्टेकस्तरीय साझा मञ्च बनाउन प्रस्ताव गरे ।

शान्ति र समृद्धि सबैको चाहना भए पनि अहिलेको युगमा कसैले पनि एक्ला-एक्लै केही गर्न नसक्ने भन्दै मोदीले सदस्य देशहरूबीच कनेक्टिभिटीमा जोड दिए । खास गरी व्यापार, यातायात, जनता-जनताबीच र डिजिटल कनेक्टिभिटी आवश्यक रहेको उनको भनाइ छ ।

दुई दिने सम्मेलनमा मन्तब्य व्यक्त गर्दै मोदीले बिमस्टेक देशको अर्थतन्त्रमाथि उकास्नका लागि समुन्द्री अर्थतन्त्र र साईबर अर्थतन्त्रमा जोड दिनुपर्ने बताए ।

आर्थिक समृद्धिका लागि युवा र प्रविधिलाई जोड्नु पर्ने बताउँदै भारतीय प्रधानमन्त्री मोदीले आफ्नो देशका विभिन्न विश्व विद्यालयमा छात्रवृत्तिको प्रस्ताव अघि सारे । उनले बिमस्टेक क्षेत्रका देशका विद्यार्थीका लागि नालन्दा लगायतका विश्वविद्यालयमा छात्रवृत्तिको अफर गरेका हुन ।

सम्मेलनमा मोदीले भारत बिमस्टेक स्टार्टअप, अन्तर्राष्ट्रिय बुद्धिस्ट सम्मेलन, बिमस्टेक डिजिटल मल्टिनेसनल सम्मेलन गर्न लागेको उल्लेख गरे ।

 यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सार्क र बिमस्टेक एकअर्काको पूरक नभएको बताएका छन् । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको बिहीबार काठमाडौंमा उदघाटन गर्दैै ओलीले बिमस्टेकप्रति क्षेत्रीय सहयोगको प्रक्रियाका लागि नेपालको मजबुत प्रतिबद्धता रहेको बताएका हुन् ।

‘नेपाल अर्थपूर्ण क्षेत्रीय साझेदारीको पक्षमा छ, सार्क र बिमस्टेक एक अर्काको विकल्प होइन आपसमा पूरक हुन्’, उनले भने, ‘हामी बीबीआईएनमार्फत उपक्षेत्रीय साझेदारीलाई पनि सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गर्दछौं ।’

सम्मेलनको अध्यक्षतासमेत गरिरहेका ओलीले भने ‘बिमस्टेकले केवल हाम्रा देशहरूलाई मात्र जोड्दैन, यसले दक्षिण एसिया र दक्षिण-पूर्वी एसियालाई पनि गाँस्छ ।’ बिमस्टेकले महासागरहरूका साथै पहाडहरू जोड्ने र पारिस्थितिकीय परस्पर निर्भरतालाई बलियो बनाउने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले बिमस्टेक सदस्य राष्ट्रलाई जोड्ने बलियो माध्यम बुद्ध धर्म पनि रहेको बताए । उनले यस क्षेत्रका देशलाई एक आपसमा जोड्न र पर्यटन विकासका लागि बुद्धिष्ट सर्किट महत्वपूर्ण रहेको धारणा पनि राखे ।

बिमस्टेक सदस्य राष्ट्रहरुको क्षमता साकार पार्न सबैभन्दा पहिला नागरिकहरूलाई गरिबीबाट मुक्त गर्नुपर्नेमा उनको जोड थियो । चरम गरिबीले दुष्चक्रतिर डोर्‍याउने मात्रै होइन अमानवीय, अन्यायपूर्ण र घातक रहेको ओलीको निश्कर्ष थियो । बिमस्टेकले गरिबी निवारणका योजनाहरूलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा उनको जोड थियो ।

बिमस्टेक क्षेत्र आतंकवाद, संगठित अपराध, लागूऔषधको तस्करी, मानव तस्करी तथा मनि लाउन्डरिङको जोखिममा रहेको उनले सम्मेलनमा बताए । ओलीले भने, ‘हामी आतंकवादको सबै रूप र अभिव्यक्तिहरूलाई पराजित गर्न एकजुट हुनु आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को चाहना पुरा गर्न अन्तर्राष्ट्रिय समूदायको समर्थन र सद्भावबिना आवश्यक रहेको बताए ।

Loading...