यी हुन् सबैभन्दा छिटाे र ढिलाे काठमाडौं आउने विदेशी राष्ट्रप्रमुख

काठमाडौं ।

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन सबै देशका राष्ट्रप्रमुख काठमाण्डु आइसकेका छन् । बिम्स्टेक आज अपराह्न एक विशेष समारोहका बीच राजधानीमा आरम्भ हुँदैछ ।

बिम्स्टेक अध्यक्ष राष्ट्र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलन उद्घाटन गर्नेछन् । सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनेछन् ।

शिखर बैठकको प्रारम्भसँगै बिम्स्टेक अध्यक्ष ओलीपछि सदस्य देशका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखले वर्णानुक्रमअनुसार सम्बोधन गर्नेछन् ।

सम्मेलनमा भाग लिन सबै देशका विशिष्ट अतिथि काठमाण्डु आइसकेका छन् । काठमाण्डु घोषणापत्र जारी गर्दै शुक्रबार अपराह्न शिखर सम्मेलन समापन हुनेछ। सम्मेलन समाप्तिसँगै बिम्स्टेकको अध्यक्षता श्रीलङ्काले गर्ने छ ।

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहान राजधानी आइपुगे । यस्तै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना पनि आज बिहान नै राजधानी आइपुगेकी छन् ।

उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे । विशिष्ट पाहुना मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गरेका थिए ।

बङ्गलादेशका प्रधानमन्त्रीलाई शिष्टाचारमहापाल दीपक अधिकारी, नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी बिन्ते शाम्स, बङ्गलादेशका लागि नेपाली राजदूत चोपलाल भुषालले स्वागत गरे ।

सबैभन्दा ढिला थाइल्यान्डका प्रधानमन्त्री

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा पनि सम्मेलनमा सहभागी हुन काठमाण्डु आइपुगेका छन् । बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन उनी सबैभन्दा ढिला काठमाण्डु आइपुगेका हुन्। उनीभन्दा अघि बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र उनीअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाण्डु आइपुगेका हुन् । त्यस्तै सम्मेलनमा सहभागी हुन म्यान्माका राष्ट्रपति सबैभन्दा पहिले काठमाण्डु अाइपुगेका हुन् ।

भुटान, म्यान्मा र श्रीलंकाका राष्ट्राध्यक्ष–सरकार प्रमुख भने बुधबार नै काठमाण्डु आइसकेका छन् ।

२०७५ भदौ १३ मा प्रकाशित ।

Loading...