म्यान्मारका राष्ट्रपतिको स्कर्टिङमा रहेको कारगेड दुर्घटना, श्रीलंकाली राष्ट्रपति आधाघन्टा विमानमै थुनिए

काठमाडाैं, १४ भदाै । सरकारी त्रुटीका कारण बुधबार बिहान भिभिआइपी सुरक्षा कारगेड दुर्घटना भएको छ । बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका म्यानमारका राष्ट्रपति विन मिन्टको स्कर्टिङका क्रममा कारगेड मोटरसाइकल दुर्घटनामा परेको हो ।

नेपाल प्रहरीले भिभिआइपीको स्कर्टिङका लागि सञ्चालन गर्न नसकिने जनाएका मोटरसाइकललाई सरकारले मर्मत संभार गरेर सञ्चालन गर्न दिएको निर्देशनका कारण प्राविधिक समस्या आएकाले बुधबार बिहानको दुर्घटना त्यसैको परिणाम भएको प्रहरी उच्च स्रोतले जनाएको छ ।

‘बाटो सहज अवस्थामा थियो मोटरसाइकल चालक पनि धेरैपटक भिभिआइपीको मुभमेण्टमा खटिएकाले अनुभवि नै हुन् । तर खास कारण नहुँदा पनि कारगेड दुर्घटनामा पर्यो यसलाई हामीले दुःख मानेका छौँ । अन्तिममा दोष प्रहरीलाई नै आउँछ ।’ नेपाल प्रहरी प्रशासन विभागअन्तर्गत रहेको प्राविधिक निर्देशनालयका उच्च अधिकारीले भने ।

उनका अनुसार, सरकारलाई यो विषयमा जानकारी गराएर ५० वटा मोटरसाइकल किन्नुपर्नेसमेत जनाइएको थियो । तर अर्थ मन्त्रालयले बजेट अभाव देखाएर मोटरसाइकल खरिद रोकेको थियो ।

अाधाघन्टा विमानमै थुनिए श्रीलंकाली राष्ट्रपति

चाैथाे विमस्टेक समिटका लागि काठमाडाैं अाइपुगेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरसेना काठमाडाैं विमानस्थलमा अवतरण गरिसकेपछि पनि अाधाघन्टा विमानमै राेकिएका छन् । त्यसैगरी उनकाे स्वागतमा दिने गार्ड अफ अनर काे ठाउँ पनि परिवर्तन गरिएको छ ।

बिहीबारदेखि सुरु हुने बिमस्टेक सम्मेलनमा सहभागी हुन आइपुगेका श्रीलंकाली राष्ट्रपति सिरिसेनालाई उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका छन्। उनी आइपुग्दा काठमाडौँ विमानस्थलमा पानी परिरहेकाले केही ढिलो गरी स्वागत गरिएको हो। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले विमानस्थलमा उनको स्वागत गरेको हो। पानी परेपछि उनी आधा घण्टादेखि विमानबाट बाहिर आउन सकेका थिएनन्। पानीका कारण उनलाई गार्ड अफ अनर दिने ठाउँ पनि परिवर्तन गरिएको थियो।

यस्तै लुम्बिनी भ्रमण सकेर म्यानम्यारका राष्ट्रपति वीन मिन्त काठमाडौँ फर्केेका छन्। बिमस्टेक सम्मेलनका लागि हालसम्म तीन वटा देशका राष्ट्रप्रमुखहरु काठमाडौँ आइसकेका छन्।

Loading...