लाप्राक नमूना बस्ती लगायतका एनआरएनएका परियोजना हस्तान्तरण गरिने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महत्वपूर्ण परियोजना मध्ये भूकम्पबाट क्षतिग्रस्त गोरखाको लाप्राकमा निमार्ण गरिएका ५ सय ७० घर सहितको नमुना वस्ती स्थानियलाई हस्तान्तरण गरिने भएको छ।उक्त बस्ती विश्वभरी छरिएर रहेका नेपालीहरुको सहकार्यमा एनआरएनएले निर्माण गरेको हो ।

आगामी अक्टोबर महिनामा हुने ‘एनआरएनए डे’को अवसर पारेर लाप्राक बस्ती स्थानियलाई हस्तान्तरण गरिने भएको हो ।’एनआरएनए डे’कार्यक्रमको अवसरमा अन्य महत्वपूर्ण परियोजनाहरुको पनि हस्तान्तरण गरिने गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो ।

अध्यक्ष भट्टले लाप्राक वस्ती निमार्णको कार्य हाल तिव्र गतिमा भईरहेकाले एनआएनए डे कार्यक्रम पूर्व कुल ५ सय ७३ घर मध्ये ३ सय ५२ घर पूर्ण तयारी भईसक्ने र बाँकी घरहरुपनि केही समयभित्र सम्पन्न गर्ने गरी कार्य भईरहेको बताउनुभयो ।


हालैको तिव्र वर्षाका कारण तत्काल रोकिएको निमार्ण काम यतिवेला नेपाल आर्मीका १ सय ५ जवान सहित ७५ जना स्थानियको टोलीेले गरिरहेको भएपनि थप ३ सय कामदारको टोलीले नमुना वस्तीलाई दशै अगावै सम्पन्न गर्ने लक्ष्य राखेको बताउदै अध्यक्ष भट्टले वर्षाले रोकिएका कामलाई यसै साताबाट सुचारु गरिएको र आगामी दुई साता भित्र साढे ३ सय घरको काम पूर्ण रुपमा सकिने पनि जानकारी दिनुभयो।

यसैगरी अध्यक्ष भट्टले बहुप्रतिक्षित एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको बालुवाटारमा निर्माणाधिन भवन पनि एनआरएनए डे अवसरमा उदघाटन गरिने बताउनुभयो ।

उक्त चार तले भवनको चौथो तल्लामा कार्यालय रहने र बाँकी भवनलाई ब्यवसायिक कम्पनीहरुसंगको सहकार्यमा भाडामा दिने तयारी भईरहेको जानकारी गराउदै एनआरएनए डे कै अवसरमा आफुले घोषणा गरेको सिन्धुलीगढी परियोजनालाई पनि सम्पन्न गरी हस्तान्तरण गरिने उहाँले बताउनु भयो।

टोकियोमा नेपाली संचारकर्मीहरुसंगको भेटघाट कार्यक्रममा अध्यक्ष भट्टले काठमाडौँको शंखमुल पार्कमा निमार्णाधिन शंखमुल पार्क स्थानिय क्लवलाई हस्तान्तरण गरिने पनि जानकारी दिनुभयो ।

‘एनआरएनए डे अवसरमा एनआरएनए प्रसिडेन्सीयल अवार्ड अन्र्तगतको पर्यटन प्रवर्द्धन भिडियो प्रतियोगितामा सहभागि ११० मध्ये उत्कृष्ट तीनलाई एकएकलाख नगद सहित पुरस्कृत गरिने तयारी गरिएको छ।’उहाले भन्नुभयो,’नेपालको आर्थिक समृद्धिमा गैरआवासीय नेपालीको भूमिका विषयमा देशव्यापी अन्तरविद्यालय स्तरिय निवन्ध प्रतियोगिता संचालन गरी पुरस्कृत गरिने छ भने राष्ट्रिय स्तरको डण्डिवियो प्रतियोगिता समेत आयोजना गरिने छ।’

यसैगरी अध्यक्ष भट्टले हालै धार्मिक तथा पौराणिक महत्वको जनकपुरको जानकी मन्दिरको रंगरोगन तथा सजावट कार्य सम्पन्न गरी आगामी विवाह पन्चमीको अवसरमा हस्तान्तरण गरिने जानकारी पनि दिनुभयो।

Loading...