नेपालले दिएको गैडाले चीनमा आतङ्क मच्चायो

काठमाडौं । नेपाल सरकारले उपहारस्वरुप उत्तर छिमेकी चीनलाई दिएको चारमध्ये एक गैंडाले चीनमा आतंक मच्चाएको खबर आएको छ । दोश्रोपटक सरकारले २ भदौमा चीनलाई मितिनी र सोल्टी नामको एक जोडी गैंडा हस्तान्तरण गरेको थियो । 

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विमानस्थलमै पुगेर नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिलाई गैंडा हस्तान्तरण गरेका थिए । पहिलो पटक लगिएका एक जोडी गैंडा गोन्जाओमा छन् । पछिल्लोपटक लगिएको गैंडा सांघाइमा । मितीनी र सोल्टीलाई कार्गो जहाजमार्फत साँघाई नेशनल पार्क लगिएको थियो ।

त्यहाँ कार्गोबाट बाहिर निकाल्न करिब चार घण्टा ढिला भयो । कार्गो रोकिएको लामो समयपछि गैंडा बाहिर निकालियो । पार्कमा पुग्ने बित्तिकी मितिनीले आंका मच्चाउन थाली । चिनियाँ नागरिक देख्यो कि जाइलागिहाल्ने मितिनीको व्यवहारबाट उनीहरु डराए । तर, नेपालबाट पहिल्यै स्याहार गरेर त्यहाँ गइसकेका प्राविधिकहरुले मितिनीलाई सम्झाएर शान्त पारे ।

 ‘कार्गोबाट निकालेपछि मितीनी धेरै रिसाएको खबर आएको छ’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मनबहादुर खड्काले भने, ‘यदि नेपाली प्राविधिकहरु नभएको भए शान्त पार्न गाह्रो हुने रहेछ ।’

Loading...