बिमस्टेकको परराष्ट्र सचिवस्तरीय बैठक काठमाडौंमा बस्दै

काठमाडौं । 

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल–खाडीको प्रयास (बिमस्टेक) को परराष्ट्र सचिवस्तरीय बैठक आज काठमाडौंमा बस्दै छ ।

बिहीबार र शुक्रबार हुने बिमस्टेकको चौथो शिखर सम्मेलनमा छलफल हुने विषय तय गर्न सदस्य मुलुकका परराष्ट्र सचिवको बैठक बस्न लागेको हो ।

बैठकमा चौथो सम्मेलनका लागि १६ औं बिमस्टेक मन्त्रीस्तरीय बैठकले प्रस्ताव गरेका एजेन्डामाथि छलफल हुनेछ । बैठकले तयार पार्ने काठमाडौं घोषणापत्रका बुँदालाई भोलि बस्ने मन्त्रीस्तरीय बैठकले अनुमोदन गरी सम्मेलनका लागि पठाउनेछ ।

सचिवस्तरीय बैठकमा क्षेत्रीय लगानी तथा व्यापार, पारवहन तथा सञ्चार, प्रविधि, प्रतिआतंकवाद तथा अन्तरदेशीय अपराध, कृषि, गरिबी निवारण र जनस्वास्थ्य गरी सहयोगका सात विषयमा छलफल गर्ने एजेन्डा छ ।

यी विषयमाथि बुँदागत छलफल गर्नुअघि बैठकले गत साउन २५ र २६ गते काठमाडौंमा भएको सचिवस्तरीय विशेष सत्रयता भएका प्रगतिको समीक्षा गर्नेछ ।

बिमस्टेकका मन्त्रीहरूको १५ औं बैठकको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुनेछ । त्यसपछि गत वैशाख २७ र २८ गते नयाँदिल्लीमा भन्सार सहकार्यका बारेमा गठन भएको कार्यदलको पहिलो बैठकको प्रतिवेदन पेस हुनेछ ।

थाइल्यान्डको राजधानी बैंककमा २०७४ साल कात्तिक २७ मा भएको पारवहन सम्बन्ध जोड्ने विषयमाथि बनेको कार्यदल बैठकको प्रतिवेदनमाथि पनि काठमाडौंमा समीक्षा हुनेछ ।

गत मंसिर ११ र १२ मा नयाँदिल्लीमा बिमस्टेक तटीय क्षेत्रको बन्दरगाह सम्झौताबारे बैठक भएको थियो । त्यसबारे भएको प्रगतिमाथि पनि बैठकमा छलफल हुँदै छ ।

त्यस्तै, गत चैत २६ र २७ गते नयाँदिल्लीमा बिमस्टेक राष्ट्रबीच यातायात सञ्चालन विषयमाथि बनेको कार्यदलको पनि पहिलो बैठक बसेको थियो । त्यसमा भएका प्रगतिबारेको छलफल पनि सचिवस्तरीय बैठकको एजेन्डामा समावेश गरिएको छ ।

शिखर सम्मेलनमा सहभागी हुन सातवटै राष्ट्रका कार्यकारी प्रमुख नेपाल आउँदै छन् । आजबाटै राष्ट्र तथा सरकार प्रमुखहरू आउन सुरु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२०७५ भदौ १२ मा प्रकाशित ।

Loading...