नेकपासँग बार्ता गर्न सरकारले थाल्यो यस्तो गोप्य तयारी, के भन्छन् विप्लव ?

काठमाडौं ।

केपी-प्रचण्ड सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग बार्ताका लागि तयारी थालेको छ । वार्ताका लागि सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय वार्ता टोली समेत गठन भइसकेको स्रोतले बताएको छ ।

नेपाल कम्युनिस्ट पार्टीसँग हुने उच्चस्तरीय वार्ता टोलीमा नेकपाका नेता सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी तथा गृह मन्त्रालयका एक सहसचिव सदस्य छन् ।

शुक्रबार राति बसेको मन्त्रिपरिषद् बैठकले वार्ता टोली गठन गरेको हो । यो टोलीलाई काम गर्न सिंहदरबारभित्रै कार्यालय दिने सरकारको तयारी छ ।

अन्तरिम संविधान, २०६३ को धारा ७८ बमोजिम गठित संवैधानिक राजनीतिक संवाद समितिसँग वार्ता गर्न छुटेका पार्टी र समुहसँग टोलीले वार्ता गर्नेछ । टोलीलाई आफूले वार्ता गरेर आवश्यकताअनुसार सरकारसँग पनि वार्ता गराउने, उनीहरूलाई सुरक्षित अवतरण गराउन विभिन्न विकल्पमा कुरा गर्नेलगायत पूर्ण जिम्मेवारी दिइएको स्रोतले बतायो ।

विप्लव नेतृत्वको नेकपाले भ्रष्टाचारीमाथि जनकारबाही गर्ने भन्दै देशका विभिन्न ठाउँमा गतिविधि गर्दै आएको छ । एकीकृत जनक्रान्तिको राजनीतिक कार्यदिशा लिएको नेकपाले आफ्ना गतिविधि कतिपय स्थानमा खुला र कतिपय स्थानमा भूमिगत शैलीमा सञ्चालन गर्दै आएको छ । भूमिगत राजनीतिको घोषणा नगरे पनि नेकपाले त्यस्तै शैलीमा राजनीतिक गतिविधि गर्दै आएको छ ।

चन्दा संकलन गरेको आरोपमा काठमाडौंबाट पक्राउ परेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई सर्वोच्च अदालतले रिहा गर्न दुईपटक आदेश दिइसके पनि अदालत परिसरबाटै फरक अभियोगमा पुनः पक्राउ गरेर हिरासतमा राखेको छ । देशका विभिन्न भागबाट नेकपाका दर्जनौँ नेता–कार्यकर्तालाई विभिन्न अभियोगमा प्रहरीले पक्राउ गर्दै आएको छ ।

के भन्छ नेकपा ?

उता सरकारले बार्ता गर्ने भन्दै उच्चस्तरीय वार्ता टोली नै  गठन गरिरहेकाे अवस्थामा यता नेपाल कम्युनिस्ट पार्टीले भने अहिलेसम्म यस विषयमा आफ्नो पार्टीलाई केहि जानकारी नभएको बताएको छ । सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले वार्ता आह्वान गरिएको औपचारिक पत्र आयो भने छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्न सकिने बताए ।

‘पार्टीलाई अहिलेसम्म आधिकारिक पत्र आएको छैन । वार्ता आह्वान गरिएको औपचारिक पत्र आयो भने छलफल गरेर आधिकारिक धारणा सार्वजनिक गर्नेछौँ ।’ उनले भने- ‘तर, पत्र नै नआएसम्म अहिले नै वार्ता गर्छौँ कि गर्दैनौँ, कोसँग गर्छौँ, कसरी भन्न सकिन्छ ?’

Loading...