निर्मला र सन्नीको परिवारलाई १० लाख राहत, एसपी विष्टमाथि हुदैछ यस्तो कारवाही

काठमाडौं ।

सरकारले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

पन्तको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भएको आन्दोलनका क्रममा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको परिवारलाई पनि १० लाख राहत दिइनेछ ।

शनिबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावमा दुबै परिवारलाई राहत दिने निर्णय गरेको हो । खुनालाई सहिद घोषणा गरेको छ । घाइतेहरुको निःशुल्क उपचार गर्ने र अंगभंग भएकालाई आर्थिक सहायता दिइनेछ ।

साथै निर्मला हत्याबारे छानविन गर्न सहसचिवको नेतृत्वमा बनेको समितिलाई नै गोलीकाण्डबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी दिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । सर्वदलीय बैठकले गरेका निर्णयहरुलाई सरकारले सकारात्मक रुपमा लिएको उनले बताए ।

निलम्बनमा परे एसपी विष्ट

यसैबीच एसपी डिल्लीराज विष्टलाई निलम्बनमा परेका छन् । पन्तको बलात्कारपछि हत्या हुँदा कञ्चनपुरमा रहेका उनीमाथि घटनाको छाविनमा लार्पवाही गरेको आरोप छ । स्थानीयले उनकै छोराको भूमिका समेत शंकास्पद भएको भन्दै छानविन गर्न माग गरेपछि डीएसपी विष्टले सुनवाई गरेका थिएनन् ।

आन्दोलन चर्किएपछि गृह मन्त्रालयले एसपी विष्टसँगै प्रमुख जिल्ला अधिकारी परिर्वतन गर्‍यो । तर, आन्दोलन नरोकिएपछि अनुसन्धान पुरा नहुँदासम्म विष्टलाई निलम्बन गर्ने निर्णय भएको छ । यसअघि गृह मन्त्रालयले डीएसपी ज्ञानबहादुर सेटी र मुद्दा फाँटका इन्स्पेक्टर एकेन्द्र खड्कालाई हेडक्वार्टर तान्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।

प्रहरीले शंकाको घेरामा रहेका बम दिदीबहिनीलाई पक्राउ गरेर शून्य अवस्थाबाटै अनुसन्धान सुरु गरिएको जनाएको छ । प्रहरी प्रमुख एसपी कुबेर कडायतका अनुसार निर्मला पन्त साउन १० गते आफ्नी साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएको अवस्थादेखि यताको अनुसन्धान सुरु गरिएको बताए ।

रोशनी बम र उनकी दिदी अनिता बम दुवैलाई पक्राउ गरेर शून्य अवस्थाबाटै अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ बताए । ‘उनीहरूलाई पक्राउ पुर्जी दिएर हामीले नियन्त्रणमा लिई अनुसन्धान थालिसकेका छौं’, एसपी कडायतले भने, ‘आइतबार म्याद थपेर थप अनुसन्धान अघि बढ्नेछ ।’ बालिका पन्तका परिवार र स्थानीयले रोशनी र उनकी दिदीलाई नै नियन्त्रणमा लिएर त्यही घरबाटै अनुसन्धान सुरु गर्नुपर्ने पहिलेदेखि नै माग राख्दै आएका थिए ।

एसपी कडायतका अनुसार अनुसन्धान क्रममा यसअघि भएको अनुसन्धानमा कहाँ के कति कमजोरी भएको छ त्यसको पनि अनुसन्धान हुने बताए । उनले भौतिक सबुत प्रमाण, घटनास्थलदेखि सबै कुराको अनुसन्धान हुने बताए ।‘कानुनले दिएको अधिकार प्रयोग गर्दै अनुसन्धान प्रक्रिया अघि बढ्छ’, उनले भने, ‘प्रहरीलाई विश्वास गर्नुप¥यो, अनुसन्धान प्रभावकारी रूपले गरेर नतिजा बाहिर ल्याउनेछौं ।’ प्रहरीले अनुसन्धान क्रममा दोषी देखिने जोसुकै भए पनि नछाडिने प्रस्ट पारे ।

छानबिन समितिले अनुसन्धान क्रममा सुरक्षा अधिकारीबाट यसअघि भए÷गरेको कामबारे समेत अनुसन्धान गर्ने भएको छ । ‘सीडीओ, एसपी र अरू सुरक्षा अधिकारीले गरेको अनुसन्धानका विषयमा समेत समितिले हेर्नेछ’, समिति संयोजक हरिप्रसाद मैनालीले भने, ‘यस घटनामा दोषी देखिएका सबैलाई कारबाही गर्ने गृह मन्त्रालयको निर्देशन भएबमोजिम नै समितिले काम गर्नेछ ।’

शनिबार समितिकै पहलमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा समेत सरोकारवालाले अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । बैठकमा राजनीतिक दलसहित सरोकारवाला निकायले घटनाको अनुसन्धानका लागि आयोग समितिलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा बालिका बलात्कार र हत्याको घटनालाई लिएर चर्किएको आन्दोलन शान्त बनाउने प्रयासस्वरूप गरेको छलफलमा ४ बुँदेसहमति भएको छ ।

प्रहरीको गोली लागी मृत्यु भएका १७ वर्षीय सनी खुनालाई सहिद घोषणासँगै परिवारलाई क्षतिपूर्तिका लागि तीनै तहका सरकारसँग आग्रह गर्ने, आन्दोलनका घाइते व्यक्तिको समयमै उपचारको व्यवस्था र शारीरिक अशक्तता भएकाहरूलाई जीविकोपार्जनका लागि यथोचित व्यवस्था गर्न आग्रह गर्ने सहमति भएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले जानकारी दिए ।

Loading...