कञ्चनपुरका जनतामाथि अन्धाधुन्ध गोली बर्साउदै प्रहरी, एक जनाको मृत्यु, ८ घाइते

कञ्चनपुर ।

प्रहरीले कञ्चनपुरका स्थानीयवासीमाथि अन्धाधुन्द गोली बर्साएको छ । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई पहिचान गरी सजाय माग गर्दै जारी आन्दोलनमाथि प्रहरीले अन्धाधुन्द गोली बर्साएको हो ।

प्रहरीको गोली लागि एक बालकको मृत्य भएको छ । प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई दिएको जानकारी अनुसार १३ बर्षिय बालक चेतन भट्टमाथि प्रहरीले ताकेरै गोली हानेको थियो । अन्य ८ जना घाइते छन् । उनीहरुको महाकाली अन्चल अस्पतालमा उपचार भइरहेको छ ।

बिहीबार गोली हानिएकै स्थान वडा प्रहरी कार्यालय नजिकै शुक्रबार पनि प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टले गोली चलेको पुष्टि गरेका छन् ।

यस्तै कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले प्रहरीको गोली लागेर केही आन्दोलनकारी घाइते भएका पुष्टि गरेपनि घटनाको विस्तृत विवरण आइनसकेको प्रतिक्रिया दिएका छन् ।

यसअघि बिहीबार प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा १० जना आन्दोलनकारी युवा घाइते भएका थिए ।

Loading...