‘सेफ्टी अडिट’ गरेरमात्र काेरियाले निगमलार्इ सिधा उडान अनुमति दिने

काठमाडाैं । नेपालबाट दक्षिण काेरियामा सिधान हवाइ सेवा जाेड्न थालेकाे नेपाल वायु सेवा निगमकाे तयारी र अन्य कुरा काेरियाले बुझेर मात्र साे अनुमति दिने भएकाे छ । त्यसक लागि काेरियाली नागरिक उड्डयन प्राधिकरणकाे टाेली नेपाल अाउने भएकाे छ ।

काेरियाली नागरिक उड्डयन प्राधिकरणकाे टाेलीले नेपाल वायुसेवा निगमको ‘सेफ्टी अडिट’ गरेर मात्र अनुमति दिन सकिने वा नसिकने भन्ने निर्णय गर्ने बताइएकाे छ । कोरियाली टोली अगस्ट महिनाको अन्त्यसम्ममा नेपाल आउने बताइएकाे छ ।

दक्षिण कोरियाको उड्डयन प्राधिकरण टोलीले निगमको सेफ्टी अडिटका साथै विमानस्थलको ‘र्याम्प अडिट’ समेत गर्ने संस्कृति पर्यटन तथा नागरिक उड्डयन सहसचिव सुरेश आचार्यले जानकारी दिए। सुरक्षाका दृष्टिकोणले निगम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था जानकारीका लागि कोरियाली उड्डयन प्राधिकरणका अधिकारी नेपाल आउन लागेका हुन्।

निगमको अडिट रिपोर्ट सकरात्मक आएमा निगमको कोरिया उडानका लागि थप प्रक्रिया अघि बढ्ने आचार्यले बताए। वाइडबडी ३३०-२०० विमान आएपछि नयाँ गन्तव्यका रुपमा जापान, दक्षिण कोरिया, साउदी अरेवियामा उडान गर्ने निगमको लक्ष्य थियो।

पहिलो ब्रान्ड न्यु वाइडबडी विमान १४ असार दोस्रो विमान १० साउनमा फ्रान्सबाट नेपाल आइपुगेको थियो। तर पहिलो वाइडबडी विमान नेपाल आईपुगेको दुई महिना बितिसक्दापनि निगमले नयाँ गन्तव्यका लागि उडान गर्न सकेको छैन।

लक्ष्य राखिएका तीन गन्तव्यमध्ये जापानमा उडानका लागि निगमले अनुमति पाइसकेको छ। नेपाल र जापान सरकार बीच गत १४ असारमा हवाई सेवा सम्झौता पुनरावलोकन भएको थियो।सम्झौता पुनरावलोकन भएसँगै नेपाली र जापानी दुबै देशका वायुसेवा कम्पनीले हप्तामा १४-१४ उडान गर्न पाउनेछन्।

यो सम्झौता पुनरावलोकन भएसँगै निगमले आफ्नो एउटा प्रमुख लक्ष्य बनाएको जापानमा उडान भर्ने बाटो खुलेको हो। कोरियामा समेत उडानका लागि नेपाल र कोरियाली सरकारबीच भएको छलफलको प्रतिफल स्वरुप कोरियाली टोली सेफ्टी अडिटका लागि नेपाल आउन लागेको हो।

नयाँ गन्तव्यमा उडान गर्ने लक्ष्य राखेको तीन गन्तव्यमध्ये साउदी अरेबियामा भने एजेन्टमार्फत् निगमले प्रक्रिया अगाडि बढाएको छ। नयाँ गन्तव्यमा उडान अनुमति नपाएपछि निगमसँग रहेका दुई विमानमध्ये ९एन-एएलजेड कलसाइनको विमानले कतैपनि उडान गरेको छैन। ९ एन-एएलवाई कल साइनको विमानले भने निगमले उडान गर्दै आएको पुरानै गन्तव्यमा उडान गर्दै आएको छ।

Loading...