कञ्चनपुरमा प्रदर्शनकारीमाथि प्रहरीले गोली चलायो, ७ जना घाइते, एकको अवस्था गम्भीर

कञ्चनपुर ।

निर्मला हत्याकाण्डको सत्यतथ्य पत्ता लागेर वास्तविक दोषीलाई कारवाहीको माग गर्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ ।

प्रहरीले चलाएको गोली लागेर कम्तिमा ७ जना घाइते भएका छन् । प्रहरीको गोली लागेर घाइते हुनेहरुमा तिर्थ प्रसाद पनेरु, तेज राज भट्ट, मनोज बुढा, अर्जुन भणडारा, सन्तोष कुमार कठरिया र किरन प्रसाद पाण्डे लगायतका रहेका छन् । त्यस्तै उता प्रहरीतर्फ हवलदार हर्क बाहदुर बम घाइते भएको बताईएको छ ।

उनीहरुलाई महाकाली अञ्चल अस्पताल भर्ना गरिएको छ । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।१३ वर्षाीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या आरोपमा एकजना मानसिक सन्तुलन ठिक नभएका युवालार्इ प्रहरीले सार्वजनिक गरेपछि आन्दोलन सुरु भएको थियो ।

महेन्द्रनगर बजार क्षेत्रमा केन्द्रित रहेको आन्दोलन बिहीबार बिहानैदेखि जिल्लाका अन्य क्षेत्रमा समेत सुरु भएको थियो। प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन गरिरहेका छन् ।

ठाउँ ठाउँमा टायर बालेर बिहानैदेखि प्रदर्शनकारीहरुले प्रदर्शन गरेका छन्। त्यही क्रममा प्रहरीले आन्दोलनकारीमाथि गोली चलाएको हो ।

वास्तविक बलात्कारीलाई कारबाही हुनुपर्ने, शान्ति सुरक्षाको ग्यारेण्टी हुनुपर्ने , कञ्चनपुरका एसपीमाथि कारबाही हुनुपर्नेलगायतका माग राखेर बिहीबार बिहानैदेखि प्रदर्शन सुरु भएको थियो।

बिहानैदेखि बजार व्यवसाय पूर्णरुपमा बन्द गरेर स्थानीयबासी आन्दोलित भएका हुन्। शिक्षण संस्था र यातायात सेवा समेत बिहानैदेखि सञ्चालनमा आएका छैनन्।

बालिका बलात्कारपछि हत्या गरिएको आरोपमा प्रहरीले सोमबार नक्कली अभियुक्त सार्वजनिक गरेको भन्दै महेन्द्रनगरमा आन्दोलनले उग्र रुप लिएको हो।

तस्वीर: बिरेन्द्र शाह

Loading...