राजधानीमा बाहिरको धुलो भित्र नछिर्ने अत्याधुनिक विद्युतीय बस सञ्चालनको तयारी

काठमाडौँ, ६ भदौ । नेपालमा पहिलो पटक बिजुलीबाट चल्ने सार्वजनिक बस सञ्चालनको प्रक्रिया सुरु भएको छ। बिजुलीबाट चार्ज हुने ब्याट्रीबाट चल्ने बस भित्र्याउन गोर्खा इकको प्यानल कम्पनीले प्रक्रिया सुरु गरेको हो।

आगामी तीन महिना भित्र नेपालमा बस ल्याएर सञ्चालन गरिसक्ने दावी सो कम्पनीले गरेको छ। उसले पहिलो चरणमा दुई वटा बस ल्याउने प्रक्रिया सुरु भएको बताएको छ। इको प्यानलले चिनिया कम्पनीको बस खरिद गर्न लागेको हो। सिएनएसी ब्राण्डको दुईवटा बस खरिद गर्न लागेको गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत कृणभक्त दुवालले नेपालखरलाई बताए।

विजुलीबाट चल्ने बस सञ्चालनको लागि कम्पनीले यातायात व्यवस्था विभागसँग काठमाडौँ चक्रपथभित्रक रुट इजाजत मागसमेत गरेको छ।

यस्तो छ बस

कम्पनीले खरिद गर्न लागेको दुई बसमध्ये एउटाको लम्बाई १० मिटरको छ भने अर्काे बसको लम्बाई ६ मिटर छ। १० मिटरको बसमा ९० जना र ६ मिटरको बसमा ३५ जनाले यात्रा गर्न सक्नेछन्।उक्त बसमा एसी, वाइफाई, बाहिरको धुलो सजिलै भित्र नपस्ने प्रविधि छ।

यो बसमा प्रयोग गरिएको ब्याट्री ५ वर्षसम्म टिकाउ हुनेछ। ब्याट्रीमा प्रयोग गरिएको लिथियम आयोन फोस्फेट ब्याट्री रहेकाेले चार्ज छिटो गराउने समेत कम्पनीले जनाएको छ। नेपालमा ल्याउन लागिएको बसको ब्याट्री ३ घण्टामा पूर्ण रुपमा चार्ज हुनेछ। पूर्ण रुपमा चार्ज भएको ब्याट्रीबाट बस २ सय २० किलोमिटरसम्म गुडाउन सकिनेछ।

अलिक महङ्गो

इको प्यानलले ल्याउन लागेको १० मिटर लामो गाडी नेपाल ल्याउँदा २ करोड भन्दा बढी खर्च हुने अनुमान गरिएको दुवाल बताउँछन्। उनका अनुसार डिजेल पेट्रोलबाट चल्ने गाडी भन्दा इलेक्ट्रोनिक गाडीको मूल्य धेरै पर्छ। झन चीनबाट ल्याउँदा लागत खर्च समेत बढ्ने भएकोले केही महंगो पर्न गएको हो। सरकारले भन्सार छुट दिएको कारणले लागत कम भएको हाे नत्र अझ बढ्ने दुवाल बताउँछन्।

चार्जिङ सेन्टरको अप्ठेरो

नेपालको कुनै पनि सडकखण्ड इलेक्ट्रिक गाडी मैत्री छैन। कहीँपनि चार्जका लागि स्टेसन छैन। त्यसकारण गाडी सञ्चालक आफैले चार्जिङ्गको व्यवस्था गर्नु पर्ने स्थिति छ। त्यसैले, इको प्यानल कम्पनीले पनि आफ्नै ग्यारेजमा गाडीको चार्जिङ्ग गराउने बताएको छ। भौतिक योजना तथा यातायात मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्मा भन्छन्, ‘इलेक्ट्रिक गाडीक लागि कुन स्थानमा सञ्चालन गर्न दिने भन्ने तय भएपछि सो रुटमा चार्जिङग स्टेसनसमेत स्थापनाका लागि छलफल भइरहेको छ।’

त्यसका लागि काठमाडौँको चक्रपथमा रुट दिन सकिने र चार्जिङ स्टेसनपनि बनाउने विषयमा सरकारी स्तरमा छलफल भइरहेको छ। रुट तय र चार्जिङ स्टेसनका लागि छिट्टै काम अघि बढ्ने शर्माले बताए।

ल्याउँदैछन् अरुले पनि

मयुर यातायातलेपनि चालु आर्थिक बर्षभित्र ४० वटा इलेक्ट्रोनिक्स गाडी सञ्चालनको तयारीमा छ। मयुर यातायातका कार्यकारी निर्देशक मोहन श्रेष्ठले भने, ‘इलेक्टोनिक्स गाडीका लागि हामीले १ अर्ब बजेट छुट्ट्याइसकेका छौँ।’ लुम्बिनी विकास कोषले समेत पर्यटन प्रयोजनका लागि इलेक्ट्रोनिक्स बस विभित्राउने तयारी गरिरहेको छ।

विजुलीबाट चल्ने साना खालका गाडीहरुको यस अघि नै नेपालमा बिक्रीक्रि वितरण भइरहेको छ। नेपालमा चल्तिमा रहेका ब्राण्ड महिन्द्रा, टाटा लगायातले नाडा अटो शो मा समेत इलेक्ट्रनिक्स नयाँ कार सार्वजनिक गर्ने तयारी गरिरहेका छन्। ‘नाडा अटो शो यहि २६-२९ भदौमा काठमाडौँको भृकुटीमण्डपमा हुँदैछ।

Loading...