इदकै दिन महोत्तरीमा मुस्लिम धर्मालम्बीबीच झडप, २ राउण्ड गोली चल्यो, १० घाइते

काठमाडौं ।

नमाज वाचनका लागि मस्जिदमा भेला भएका मुस्लिम धर्मालम्बीबीच झडप हुँदा महोत्तरीमा १० जना घाइते भएका छन् ।

महोत्तरीको लोहारपट्टी गाउँपालिका–३, महदैया चोकको इदगाहा मस्जिदमा दुई पक्षबीच बिहान ८ बजे झडप हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेको अवस्था सामान्य छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीले नमाज वाचन गर्न दुई पक्षले आ–आफ्ना पण्डित अघि सारेपछि बढेको विवाद झडपमा परिणत भएको जनाएको छ ।

परिस्थिति तनावग्रस्त बनेपछि प्रहरीले २ राउण्ड हवाई फायर नै गर्नुपरेको थियो । प्रहरीले भीड तितर–वितर पारेपछि अवस्था नियन्त्रणमा आए पनि विवाद मिलिसकेको छैन । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले अहिले दुई पक्षलाई छलफलमा राखेर विवाद मिलाउने प्रयास भइरहेको जनाएको छ ।

बुधबार मुश्लिम धर्मावलम्बीले आफ्नो चाड बकर इद आज मनाइ रहेका छन् । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ ।

आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । घन्टाघरस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भीड लागेको छ ।

नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले खसी वा भेंडाको बली दिने र त्यसलाई गरिब, पाहुना र आफ्नै परिवारका सदस्यलाई भाग लगाएर खाने चलन छ ।

तस्वीर: गुगलबाट

Loading...