अब गोपनीयता भंग गरे कैद, सार्वजनिक पदाधिकारीको विवरण पनि गोप्य राखिने

काठमाडौं । 

राजधानीबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयवस्तुलाई समाचारको रुप दिएर छापेका छन् । सवा चार लाखको घरमा गोबरग्यास पुर्याउने भनेर प्रधानमन्त्रीले व्यक्त गरेको प्रतिबद्धतादेखि संसदमा दर्ता भएको गोपनीयता र शिक्षा विधेयकसम्मका विषयवस्तुमाथि पत्रपत्रिकाहरुले समाचार लेखेका छन् ।

सरकारी टोलीको अनुगमनविरुद्ध उत्रेका कालीमाटीका तरकारी व्यवसायीले मंगलबजार बजार ठप्प पारेका छन् । यो विषयलाई आजका सबैजसो दैनिक पत्रिकाहरुले प्राथमिकताका साथ समेटेका छन् ।

यसका अतिरिक्त कांग्रेसमा नेतृत्व लिन होडबाजी चलेको, प्रदूषण नाप्ने करोडौंको उपकरण प्रयोगविहीन बनेको, खानी कब्जा गर्ने प्रवृत्ति बढेको, कोमामा रहेका २२ नेपाली श्रमिक फर्काउन लागिएकोलगायत समाचारले पनि आजका पत्रपत्रिकाहरुमा स्थान पाएका छन् ।

डुंगा पार गर्दै गरेका रौतहट बसतपुरका बासिन्दाको तस्वीरलाई महत्त्वका साथ पहिलो पृष्ठमा छापेको कान्तिपुरले गोपनीयता र शिक्षा विधेयकबारे मुख्य समाचार लेखेको छ । समाचार अनुसार अब सार्वजनिक पदाधिकारीको विवरण पनि गोप्य राखिने भएको छ ।

अब गोपनीयता भंग गरे कैद हुने समाचार छ । समाचार अनुसार, संसदमा दर्ता भएको विधेयकमा वैयत्तिक विवरण सार्वजनिक गर्न सम्बन्धित व्यक्तिको मन्जुरी लिनु पर्नेछ ।

सरकारले संसदमा दर्ता गरेको वैयक्तिक गोपनीयताका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सार्वजनिक पद धारण गरेको व्यक्तिको शैक्षिक प्रमाणपत्र खोज्न र सार्वजनिक गर्न नपाइने प्रावधान छ ।

त्यस्तै सरकारले अनिवार्य तथा निःशुल्क शिक्षा विधेयकको मस्यौदा फेरेर निजी विद्यालयलाई फाइदा पुग्नेगरी दर्ता गराएकोलाई पनि कान्तिपुरले लेखेको छ । समाचार अनुसार निजी विद्यालयले २५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्था गरिएकोमा सरकारले १० प्रतिशतमा झारेको छ ।

कान्तिपुरमै सन्तानलाई ८ कक्षासम्म नपढाउने अभिभावक अब अयोग्य घोषित हुने खबर पनि छ । शिक्षा विधेयकमा गरिएको व्यवस्था अनुसार संघ, प्रदेश वा स्थानीय तहको कुनै पनि सेवा, स्वामित्व, अनुदान लिन छोराछोरीलाई ८ कक्षासम्म पढाएको प्रमाणपत्र पेश गर्नुपर्ने हुन्छ ।

२०७५ भदौ ६ मा प्रकाशित ।

Loading...