प्रधानमन्त्री खान सरकारी निवासमा नबस्ने, गाडी पनि लिलामी गरिदिने

काठमाडौं ।

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खान सरकारी निवासमा नबस्ने भएका छन्। राष्ट्रका नाममा सम्बोधन गर्दै खानले राज्यको खर्च कम गर्न आफ्ना सेवासुविधामा कटौती गर्न लागेको बताए।

आफूले बानिगालास्थित आफ्नै घरमा बस्न चाहेको भए पनि सुरक्षा अधिकारीहरुले खतरा देखाएकाले सैनिक सुरक्षा भएको घरमा बस्नुपरेको उनले बताएका छन्। उनी अब इस्लामवादको तीन बेडरूम भएको एउटा घरमा बस्नेछन्।

अहिलेको प्रधानमन्त्री निवासमा ५ सय २४ कामदार र ८० बुलेटप्रुफ कार छन्। इमरानले आफूले २ जनामात्र कामदार राख्ने र कारहरू लिलामीमा बेच्ने घोषणा गरेका छन्।

‘प्रधानमन्त्रीसँग ३३ बुलेटप्रुफ कार छन्, उड्नलाई हेलिकप्टर र जहाज छन्। हाम्रा गभर्नरका आलिसान निवास छन्। एकातिर हामीसँग जनताका लागि खर्च गर्ने पैसा छैन। अर्कातिर एउटा वर्ग छ जो हामीमाथि उपनिवेश जमाउनेहरू जसरी बस्थे त्यसैगरी बसिरहेका छन्,’ इमरानले भने। उनले प्रधानमन्त्रीसहित उच्चपदस्थको विदेश भ्रमणमा अनावश्यक खर्च भइरहेको बताएका छन्।

‘प्रधानमन्त्रीको विदेश भ्रमणमा कति पैसा खर्च हुन्छ? ६५ करोड पाकिस्तानी रूपैयाँ कहाँ खर्च हुन्छ? सभामुखलाई छुट्याइएको १६ करोड रुपैयाँ उनी केमा खर्च गर्छन्? के उनीहरू राज्यविस्तार गर्न विदेश जान्छन्?,’ इमरानको प्रश्न छ।

खानले दुइटा गाडीबाहेक सबै लिलामी हुने भएकाले व्यापारीलाई ती किन्न निमन्त्रणा गरेका छन्। उनले सबै गभर्नर निवाससहित सरकारी भवनलाई जति सकिन्छ सामान्य बनाउने बताए।

इमरानले प्रधानमन्त्री निवासको जग्गा र सम्पत्तिमा अनुसन्धान विश्वविद्यालय बनाउने आफ्नो चाहना रहेको उल्लेख गरे। उनले नयाँ पाकिस्तान बनाउन नयाँ सोच आवश्यक रहेको पनि उल्लेख गरे। यसअघि चुनावका बेला इमरानले वंशवाद र भ्रष्टाचारलाई मुख्य मुद्दा बनाएका थिए।

Loading...