भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन

काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका ९३ वर्षीय वाजपेयी जुनमा नै नयाँदिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना भएका थिए ।

वाजपेयीलार्इ सन् २००९ मा मस्तिष्काघात भएको थियो। सन् १९२४ मा जन्मिएका बाजपेयी सन् १९९६ मा पहिलो पटक १३ दिनका लागि प्रधानमन्त्री बनेका थिए। तर संसदमा बहुमत उनको पक्षमा नदेखिएपछि उनले पदबाट राजीनामा दिएका थिए। त्यसको दुई वर्षपछि नै उनी प्रधानमन्त्री बने र सन् २००४ सम्म उनले भारत सरकारको नेतृत्व गरे।

वाजपेयीले सन् १९९८ मेमा राजस्थानको पोखरणमा आणविक परीक्षण गरी भारतको अणुशक्ति बन्ने महत्वाकांक्षा विश्वसमक्ष राखे र त्यसको विरोधमा अमेरिकालगायत न्युक्लियर क्लबका स्थापित सदस्यहरुले आर्थिक नाकाबन्दी लगाएपछि भारत संकटमा परेको थियो। अन्तत: उनका उत्तराधिकारी तथा कांग्रेस नेता मनमोहन सिंह नेतृत्व सरकारले अमेरिकासँग न्युक्लियर डिल गरी नाकाबन्दीबाट पुगेको क्षति रोक्न र भारतसँगको सम्बन्ध सामान्य गर्न कदम चालेको थियो।

सन् १९५१ मा श्यामाप्रसाद मुखर्जीको नेतृत्वमा भारतीय जनसंघको राजनीतिमा उनी प्रवेश गरेका थिए। उनले सन् १९६९ मा जनसंघको नेतृत्व सम्हाले। सन् १९७७ मा जनसंघलगायतका पार्टीहरु मिलेर बनेको जनता पार्टीले सरकारको नेतृत्व लिएपछि उनी विदेशमन्त्री बने र जनता पार्टी टुक्रिन थालेपछि सन् १९८० अप्रिलमा पुरानो जनसंघले भारतीय जनता पार्टीका रुपमा पुनर्जन्म लियो। वाजपेयी त्यसका पहिलो अध्यक्ष बने।

त्यो बेला उनी नेतृत्वको भाजपाले जनसंघले उठाउँदै आएका हिन्दी, हिन्दु, हिन्दुस्थानको नारा छोडेर गान्धी दर्शनमा आधारित समाजवादलाई अँगाल्ने घोषणा गर्‍यो तर इन्दिरा गान्धी हत्याका कारण उब्जिएको सहानुभूति लहरमा सन् १९५० को लोकसभा चुनावमा वाजपेयीसँगै उनको पार्टी नराम्रोसँग पराजित भयो। त्यसको चार वर्षपछिको चुनावमा उनका उत्तराधिकारी लालकृष्ण आणवाणीको नेतृत्वमा अयोध्यामा राम मन्दिरको निर्माणसँगै हिन्दुत्वलाई चुनावी मुद्दा बनाएपछि भारतीय जनता पार्टीले लोकसभामा दुईबाट ८५ स्थान हासिल गर्‍यो र उसको आकारमा बृद्धिको सिलसिला त्यहीँबाट सुरु भयो। भारतीय राजनीति र मिडियाको एउटा पक्ष वाजपेयीलाई नरमपन्थी हिन्दु मान्छ तर हिन्दुत्वको लहरको फाइदा सबैभन्दा बढी वाजपेयीले नै हासिल गरे।

प्रधानमन्त्रीका रुपमा पूरा पाँच वर्ष आफ्नो अवधि पूरा गर्ने अहिलेसम्मका गैरकांग्रेसी प्रधानमन्त्री वाजपेयीमात्र हुन्। यद्यपि उनकै पार्टीका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी मेमा पाँच वर्षकार्यकाल पूरा गर्नेछन्।

वाजपेयीको राजनीतिको सुरुवात सन् १९४० को दशकमा राष्ट्रिय स्वयंसेवक संघमा प्रवेशबाट मानिन्छ। उनका राजनीतिका प्रखर विरोधी पनि उनको वकृत्वकला र राष्ट्रिय मुद्दाहरुमा आफ्नै पार्टीहरुभन्दा फरक अडान लिनसक्ने क्षमताबाट प्रभावित रहिआएका छन्।

Loading...