प्रदेश तहका कर्मचारीको खटनपटन अब प्रदेश सरकारले गर्ने

काठमाडौं । 

अबदेखि प्रदेश तहमा कर्मचारीको खटनपटन सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ ।

यसअघि, प्रदेश तहमा संघ (केन्द्र)ले कर्मचारी खटाउँदै आएकाेमा अबदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रदेश सरकार मातहतका कर्मचारी खटाउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

‘अब हामी प्रदेश सरकारका लागि एकमुष्ट कर्मचारी पठाउछौं’–उनले भने–‘अनि मुख्यमन्त्रीको कार्यालयले आवश्यक पर्ने ठाउँमा कर्मचारी पठाउँछ ।’ मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषदका प्रमुखसचिवलाई कर्मचारी खटाउने अधिकार प्रदान गरेको छ ।

कर्मचारी समायोजन ऐन २०७४ अनुसार तीन तहमा कर्मचारी समायोजन नभएसम्मका लागि सम्बन्धित प्रदेशका मुख्यमन्त्री र मन्त्रिपरिषदको कार्यालयले नै कर्मचारी खटाउने व्यवस्था गरिएको उनले बताए ।

खटाइएका कर्मचारीको अध्ययन र असाधारण बिदाबाहेक अन्य बिदा काज स्वीकृत गर्ने, पुरस्कृत वा विभागीय कारबाही गर्नुपर्ने भए सिफारिस गर्नुपर्नेजस्ता अधिकार प्रदेश प्रमुखसचिवलाई प्रदान गरिएको छ ।

संगठन संरचनानुसार सातओटै प्रदेशमा १६ हजार ५७० कर्मचारी रहनेछन् ।

Loading...