जाजरकोटमा बाढी र पहिरोको यस्तो लिला, करोडौको क्षति, पशुवस्तु, घर, पुल बाढीले बगायो

जाजरकोट, ३० साउन । भारी वर्षाका कारण अाएकाे बाढीका कारण जाजरकाेटमा ठूलाे धनजनकाे क्षति पुगेकाे छ । बाढीमा परी एक जनाकाे ज्यान गएकाे छ भने अरु धनमालकाे ठूलाे क्षति पुगेकाे छ ।

लगातार परेकाे वर्षाका कारण खाेला बढेपछि ठाउँ ठाउँमा बाढीले ठूलाे क्षति पुर्याएकाे हाे । बाढीले जिल्लाकाे पूर्वी क्षेत्र नलगाड नगरपालिकामा सबैभन्दा बढी असर पुर्याएकाे छ । नलगाड नगरपालिका वार्ड नं ७ मा पर्ने दानेपिपलमा एक जनाकाे खाेलामा बगेर ज्यान गएकाे छ । दानेपिपल भन्ने ठाउँमा खाेला तर्ने क्रममा ४० वर्षीय उमेश शाही बगेर ज्यान गुमाएका हुन् ।

साेही गाउँपालिकाकाे वार्ड नं ५ मा पनि बाढीले कराेडाै धनमालकाे क्षति पुर्याएकाे छ । कालिमाटी बजार र डाँडागाउँ जाेडने खाेलामा अाएकाे बाढीले ६ वटा घुम्ती पसल, २ वटा घट्ट, एउटा धान कुट्ने मिल, २ वटा पुल र धानबाली लगाइएका धेरै खेतहरु बगेका छन् । नलगाड नगपालिकाका लहँ र डाँडागाउँ जाेड्ने एकमात्र खाेलामा अाएकाे बाढीले बढी क्षति पुर्याएकाे छ ।

नलगाड नगरपालिका वडा नं. १२ तलछहराका रामबहादुर बस्नेतको घरको ढुंगाको पर्खाल र ढलान गरिएको १ तले घरको पछाडिको भाग बाढीले बगाएकाे छ । खाेला बढेर कटान गर्दा बस्नेतकाे घरसँगै मकैबारी पनि कटान गरेर फालेकाे छ ।

त्यसैगरी वर्षाले बढेकाे भेरी नदीले नलगाड नगरपालिका वडा नं. १२ तल्लु बगर र आठविसकोट नगरपालिका वडा नं. ५ मा जाजरकोट र रुकुम जोडने झोलुङ्गे पुलमा क्षति पुर्याएकाे छ । पुलका पिल्लर नदिले कटान गरेपछि पुल अत्यत्तै जाेखिममा परेकाे छ । त्यस्तै नलगाड नगरपालिका वडा नं. ३ कैना बस्ने गोकर्ण चन्दको घर र गोठ बाढीले बगाएको छ ।

त्यस्तै नलगाड नगरपालिका वडा नं.३ कैना बस्ने प्रचण्ड ओलीको धान कुटने मिल बाढीले बगाएकाे छ । वडा नं. ३ कडकेको बाँसकट्टी भन्ने स्थानमा जाजरकोट जुम्ला सडक खण्डको सडकमा पहिरो गई सोहि ठाउँका ललित राना र तिलक बुढाको घर आधा पहिरोले पुरिएको छ ।

त्यसैगरी नलगाड नगरपालिका वडा नं. ८ जिकुवामा रहेको मष्ट माध्यमिक विद्यालयको कार्यालय कोठाको भवन पहिरोले पुरिएको छ । वडा नं.१ दम्का बस्ने रत्न बहादुर बस्नेतको दुई तले घर भत्किन गई घर पूर्ण रुपमा क्षति भएको छ । वडा नं. ३ कैना बजारदेखि सिस्नेरीसम्म ८ वटा घट्ट बगाएको छ । नलगाड न.पा. ३ मा ठूलो क्षेत्रफलमा लगाईएको अलैची खेती जिब्रे खोलाले कटान गरेको छ ।

त्यस्तै जिल्लाको भेरी नगरपालिकाम वडा नं. २ मा २९ गते ओमलाल पुनका ४३ वटा बाख्रा जंगलमा चर्न गएकोमा ७ वटा बाख्रा घरमा आएको, ३ बटा बाख्रा लहरेखोलामा मृत अवस्थामा फेला परेको बताइएकाे छ । अरु ३३ वटा बाख्रा अझै फेला नपरेको पुनले जानकारी गराएका छन् ।

त्यस्तै बुधवार सदरमुकाममा रहेकाे जिल्ला कृषि विकास कार्यालय नजिक रुख ढलेर सडक अवरोध भएको छ ।

 

 

 

Loading...