अन्तर्राष्ट्रिय र्याफ्टिङ प्रतियोगितामा नेपालको सफलता

काठमाडाैं । अन्तर्राष्ट्रिय र्याफ्टिङ महासंघ (आईआरएफ) को आयोजनामा चीनको छिङहाइ प्रान्तस्थित यू शू प्रिफेक्चरको पा थाङ नदीमा भएको अन्तर्राष्ट्रिय र्याफ्टिङ प्रतियोगितामा नेपाल नवौं भएको छ।

कूल २२ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा नेपाली टिमले भने कुनै उपाधिविनै अनुभव हासिल गर्दै नवौं स्थानमा चित्त बुझाएको हो। समग्रमा न्यूजिल्याण्ड–१ प्रथम, जापान दोश्रो, चीन–१ तेश्रो र चिली चौथो भए। प्रतियोगितामा नेपालले ४ दिनमा ४ वटा इभेन्टमा भाग लिएको थियो।

चिनियाँ राज्य खेलकुद सामान्य प्रशासन अन्तर्गत जलक्रीडा व्यवस्थापन केन्द्रको संयोजनमा राष्ट्रिय राफ्टिङ उद्धार तथा जीवनरक्षा तालिम–२०१८ तथा यू शू पठार र्याफ्टिङ विश्व च्याम्पियनसीप–२०१८ यसपटक छिङहाइको यू शू तिब्बती स्वायत्त प्रिफेक्चरमा गरिएको हो।

जलश्रोतको धनी नेपालमा जलक्रीडा सम्बन्धी गतिविधिहरू नेपाल एशोसियन अफ र्याफ्टिङ एजेन्सी (नारा), हिमालयन रिभर गाइड एशोसियसन, नेपाल क्यानोइङ र्याफ्टिङ एशोसियन लगायतले गर्दै आइरहेका छन्। पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै यू शू आएका नाराका उपाध्यक्ष एवं अतिरिक्त खेलाडी कमलबहादुर ठकुरीसँगै लीलबहादुर गुरूङ, शक्तिकुमार गुरूङ, दिपेश गुरूङ र मिलन श्रेष्ठले ५ दिने प्रतियोगितामा भाग लिएर राम्रै अनुभव बटुलेको बताए।

नेपाली खेलाडीहरूका अनुसार राष्ट्रिय प्रतियोगिता मात्रै खेल्दै आएकोमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउँदा नयाँ अनुभव भयो। प्रतियोगिताको मुखैमा आएर अभ्यास गर्ने नेपाली परिपाटी छ, तर वर्षैभरि र्याफ्टिङ गरिरहने भएकाले विदेशी खेलाडीको क्षमतास्तर माथि रहेको र उनीहरूबाट प्राविधिक कुरा सिक्न सकिएको नेपाली खेलाडीहरूले बताए।

उनीहरूको ठहर छ, ‘खेल कसरी जित्नुपर्छ भन्ने दाउपेचमा केन्द्रित भएर विदेशी खेलाडीहरू अभ्यास गर्दा रहेछन्। नेपालमा र्याफ्टिङका लागि कोच र अन्य सामग्रीहरू भएपनि पैसाको अभावले प्रतियोगिता नै हुँदैन।’

प्रतियोगितामा न्यूजिल्याण्ड, अष्ट्रेलिया, रोमानिया, जर्मनी, जापान, युएई, रसिया, ब्राजिल, चेक रिपब्लिक, बेलायत, स्लोभाकिया, चीन, नेपाल लगायत २२ देशका महिला तथा पुरूष समूहले भाग लिएका थिए।

विश्व र्याफ्टिङ महासंघले वर्षेनी अन्तर्राष्ट्रिय प्रतियोगिता गर्दै आएको छ भने अन्य ससाना इभेन्टहरू निरन्तर संचालन गर्दै आइरहेको हुन्छ। नेपाली खेलाडीहरूले छोटो समयमा मात्रै जानकारी पाउने र प्रतियोगिताको तयारी गर्ने साधनश्रोत र समय पनि नपाउनाले पछाडि पर्ने गरेको नाराका उपाध्यक्ष ठकुरीले बताए।

नेपालले नेश्नल च्याम्पियनसीप गर्दै आएको भएपनि अन्तर्राष्ट्रिय प्रतियोगिता भने संचालन गर्न आर्थिक संकट झेल्दै आएको छ।

‘प्राकृतिक रूपमा बगेका नेपालका नदीनालाहरू अन्तर्राष्ट्रिय र्याफ्टिङ प्रतियोगिता संचालनका लागि निकै प्रभावकारी हुन्थे’, ठकुरीले भने, ‘सरकारले पनि हेर्दैन, संस्थाहरूसँग प्रतियोगिता चलाउने आर्थिक श्रोत नै हुँदैन।’

यसअघि गत जुलाइमा पनि चीनले नेपाल–चाइना फ्रेण्डसीप र्याफ्टिङ म्याच कुइलिन प्रान्तमा संचालन गरेको थियो। जल उद्धार तालिमसँगै खेलाडीहरूले विश्व र्याफ्टिङ महासंघको निर्देशनमा नदी क्षेत्रमा उद्धारका क्रममा अपनाउनुपर्ने क्षमता तथा व्यावसायिक ज्ञान हासिल गरेका छन्। यो प्रशिक्षणले र्याफ्टिङ तथा जलउद्धार प्रकोपका लागि चाहिने क्षमता तथा व्यवसायिकता विकासमा ठूलो टेवा पुर्याउने सहभागीहरूले अपेक्षा गरेका छन्।

Loading...