साउदी सेनाले यमनमा आक्रमण गर्यो, मारिए २९ बालबालिका

एजेन्सी । साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणका कारण यमनमा कम्तिमा २९ जना बालबालिकाको ज्यान गएको छ । अरु ३० जना घाइते भएका छन् ।

बालबालिका चढेको बसमा हवाई आक्रमण भएको रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । उत्तरी प्रान्त सादको दाहयान बजारमा बस पुगेका बेला आक्रमणमा परेको हो ।

हुथी बिद्रोहीले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले भने आक्रमणमा परि ४३ जनाको ज्यान गएको तथा ६१ ज्ना घाइते भएको उल्लेख गरेको छ ।

साउदी अरेबिया नेतृत्वको गठबन्धन सेनाले हुथी बिद्रोही विरुद्धको कारबाही अभियानमा यमनको सरकारलाई सहयोग गर्दै आएको छ । उसले आक्रमण वैध रहेको दाबी गरेको छ ।

सर्वसाधारण नागरिकमाथि आफूहरुले कहिले पनि निशाना नबनाएको गठबन्धन सेनाले दाबी गरेको छ । तर मानवअधिकारकर्मीले भने बजार क्षेत्र, विद्यालय, अस्पताल तथा मानवबस्ती क्षेत्रमा हवाई आक्रमण हुने गरेको भन्दै चिन्ता जताउने गरेका छन् ।

यसैबिच यमनका लागि संयुक्त राष्ट्रसंघीय विशेष दूत मार्टिन ग्रिफित्थसले आउँदो सेप्टेम्बरमा युद्धमा संलग्न पक्षलाई जेनेभा बोलाएर वार्ताको सम्भावना वा विकल्प बारे कुरा गर्ने तयारी गरेका छन् ।

Loading...