अब नोटमा केरमेट गर्नेलार्इ सिधै जेल सजाय हुने

काठमाडौँ, २४ साउन । नोट वा मुद्रामा केरमेट गर्ने बानी छ भने सुधारिहाल्नुस् । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई अब प्रहरीले सिधै प्रक्राउ गरी ३ महिनासम्म जेल हाल्न र ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्छ ।

फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन गरी हालै पारित ‘मुलुकी अपराध (संहिता) ऐन २०७४’ मा यस्तो व्यवस्था गरिएको हो । उक्त ऐनको दफा २६३ मा भनिएको छ, ‘बैंक नोटमा लेख्न वा कोर्न हुँदैन । त्यसो गरेको भेटिए कसुर गर्ने वा गराउने व्यक्तिलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’ यो ऐन आउँदो भदौ १ देखि लागू हुँदै छ ।

नोट फोहोर वा केरमेट गरेकै कारणले कैद वा जरिवाना हुने भएको यो पहिलो पटक हो । यसअघि जाली नोट कसुरमा मात्र जेल चलान हुने व्यवस्था थियो । राष्ट्र बैंकले नयाँ व्यवस्थाअनुसार नोट केरमेट नगर्न/नगराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले अब कानुनले नोट फोहोर गर्ने कार्यलाई फौजदारी कसुर मानेकाले कानुन पालना गराउने निकायले सोहीअनुसार कारबाही र जरिवाना गर्ने बताए ।

नक्कली नोट वा सिक्का (खोटा) बनाएको पाइए १० वर्षसम्म कैद र लाख रुपैयाँसम्म जरिवाना हुनेछ । झुत्रा नोट दुरुपयोग गर्नेले पनि कारोबाही भोग्नुपर्नेछ । त्यस्ता नोट कानुनबमोजिम नष्ट नगरी कुनै लाभ पाउने बदनियतले प्रयोगमा ल्याएको भेटिए ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।

Loading...