अपहरणकारीको मोवाइलमा एसएसपीको यो खतरानाक एसएमएस कसरी पुग्यो

काठमाडौं, २३ साउन । एसएसपी विश्वराज पोखरेलले ९ः४६ मा अपहरणकारीको मोबाइलमा एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देश थियो– ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँ सकिन्छस् ।’ लगत्तै मोबाइल अफ भयो । त्यसपछि न बालकलाई बचाउन सकियो, न अपराधको उद्देश्य के थियो भनेर खुल्ने गरी अपहरणकारीलाई जीवित समाउन सकियो ।

अाजकाे नयाँ पत्रिकाले लेखेकाे छ, ११ वर्षीय बालक निशान खड्का अपहरणमा परेको खबर पाएपछि संवेदनशील भएर उद्धार गर्नुको सट्टा प्रहरी अधिकारीहरूले जस लिने होडबाजी गरेको खुलेको छ । अपहरणको खबर आउनासाथ महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख धीरजप्रताप सिंहको नेतृत्वमा अप्रेसन सुरु भएको थियो ।

तर, त्यहीबीचमा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख विश्वराज पोखरेलले अपहणकारीलाई एसएमएस गरेका थिए । उनको यो कदम बालकको उद्धारमा सहयोगी बनेन, बरु उनको हठात् हत्या भयो । आइतबार साँझ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित परिसरका प्रमुख एसएसपी पोखरेल

र महाशाखा प्रमुख सिंह वीर अस्पतालमा थिए । गोरखाको फुजेल काण्डका उजुरीकर्ता नूरप्रसाद अधिकारीलाई उनकी आमा गंगामायाको जिम्मा लगाउन उनीहरू सबै अस्पताल पुगेका थिए । करिब ९ः१५ मा खबर आयो, ‘काँडाघारीका ११ वर्षीय बालक अपहरणमा परे ।’

महानिरीक्षक खनालले तत्कालै उद्धार अप्रेसन सुरु गर्न महाशाखाका प्रमुख सिंहलाई र आवश्यक सहयोग गर्न पोखरेललाई निर्देशन दिए । खनाल वीर अस्पतालबाटै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ लागे किनकि गृहमन्त्री रामबहादुर थापा बादल इन्डोनेसिया भ्रमणमा जाँदै थिए ।

महाशाखाका प्रमुख सिंह अप्रेसनमा खटिए । उनले डिएसपीहरूको कमान्डमा चार टोली बनाएर ९ः३० मा नै परिचालन गरिसकेका थिए । एसएसपी सिंहकै निर्देशनमा उपत्यकाका सबै नाका बन्द पनि गरिसकिएको थियो ।

उता परिसरका प्रमुख पोखरेलले रेडियो सेटबाटै बानेश्वर वृत्तका प्रमुख गोविन्द काफ्लेलाई घटनास्थल पुग्न निर्देशन दिए । काफ्लेको नेतृत्वमा प्रहरी टोली १० मिनेटमै बालककी आमा चमेली खड्काको चिया पसलमा पुग्यो ।

त्यतिन्जेलसम्म अपहरणकारीले चमेलीलाई फोन गरेर फिरौती मागिसकेका थिए । ‘तिम्रो बच्चा हाम्रो कब्जामा छ । सकुशल चाहिन्छ भने दुई करोड रुपैयाँ देऊ,’ फोनमा भनिएको थियो । जवाफमा ‘तपाईं को बोल्नुभएको ? मेरो बाबु खोइ ? मैले त्यत्रो पैसा कसरी दिन सक्छु’ भन्दै चमेली रुन थालिन् । अपरिचितले ‘बाबु चाहिन्छ भने पैसा ल्याउनू’ भन्दै फोन काटेका थिए ।

फिरौती माग्न प्रयोग भएको मोबाइल नम्बर डिएसपी काफ्लेले एसएसपी पोखरेललाई टिपाए । पोखरेलले कुनै पनि प्रहरी अधिकारीसँग सल्लाह नगरी ९ः४६ मा अपहरणकारीको मोबाइलमा धम्कीपूर्ण एसएमएस पठाए । फिरौती माग्न प्रयोग गरिएको ९८४३६२०६७० नम्बरमा प्रहरीको मोबाइल नम्बर ९८५१२०५५५५ बाट पठाइएको सन्देशमा भनिएको थियो, ‘बच्चा तुरुन्त छाडिदे । नत्र तँसकिन्छस् ।’

फिरौती माग्न प्रयोग गरिएको मोबाइल लगत्तै स्विचअफ भयो जसले गर्दा अनुसन्धान पनि असहज भयो । बालक मारिएपछि बिहान मात्र प्रहरी अपहरणकारीसम्म पुग्यो र पक्राउ गरेको पाँच घन्टापछि घ्याम्पेडाँडामा लगेर उनीहरूको ‘इन्काउन्टर’ गरियो ।

यसरी प्रहरीले समन्वयको सट्टा प्रतिस्पर्धा र संवेदनशीलताको सट्टा गैरजिम्मेवारीपूर्ण बाटो अपनाउँदा बालकको ज्यान बचाउन सकिएन, अझ अपहरणकारीलाई समेत इन्काउन्टरका नाममा मारिएपछि बालकलाई के उद्देश्यले अपहरण र हत्या गरिएको थियो भन्ने रहस्यमा समेत पर्दा लागेको छ ।

प्रहरी स्रोतका अनुसार एसएमएससम्बन्धी रिपोर्ट गृहसचिव प्रेम राईसमक्ष पुगिसकेको छ । गृहमन्त्री भने इन्डोनेसियाबाट फर्किसकेका छैनन् । काठमाडौं परिसर स्रोतका अनुसार असल नियतका आधारमा पठाइएको हो ।

स्रोतले भन्यो, ‘एसएमएस पठाइएको साँचो हो । तर, यो गुड फेथमा रहेर पठाइएको हो । यसमा कुनै गलत नियत छैन । कहिलेकाहीँ यस्तो प्रक्रिया पनि अपनाउन सकिन्छ । कति केस यसरी पनि सफल भएका छन् ।’ प्रहरीले पठाएको एसएमएस पुग्नुअघि नै मोबाइल अफ भइसकेको र अपहरणकारीले हेर्नै नपाएको दाबी परिसर स्रोतको छ ।

अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले एसएमएसका सम्बन्धमा अनुसन्धान भइरहेको बताए । उनले भने, ‘एसएमएस कसरी गरियो त्यो रहस्यमय छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ । अर्कोचाहिँ यो गोप्य डकुमेन्ट कसरी बाहिरियो, त्यस सम्बन्धमा पनि अनुसन्धान भइरहेको छ ।’

Loading...