साम्यवाद असम्भव भएको निष्कर्षसहित महामन्त्री छाडेर लेखनकर्मतिर लाग्दै मोहन विक्रम सिंह

काठमाडाैं, २२ साउन । नेपालकाे कम्युनिस्ट अान्दाेलनमा माेहन बिक्रम सिंहकाे छुट्टै पहिचान छ । उनी समकालीन नेताहरुमा सबैभन्दा पाका र पुराना नेता हुन् । साथै सबैभन्दा बढी अध्ययन र लेखन गर्नेमा पनि उनैकाे नाम अाउँछ । २०३१ सालमै कम्युनिस्ट पार्टीकाे महासचिव भएका उनी अब भने पार्टीकाे महासचिवमै बस्न नचाहेकाे यदाकदा बताउने गरेका छन । उनी अाफूलार्इ पार्टीले महासचिवकाे जिम्मेवारी दिएर अाफ्नाे सिर्जनात्मक क्षमतामा अवराेध पुर्याएकाे पनि बताउने गरेका छन् । अब उनले अाफ्नाे जिम्मेवारी छाडेर सिर्जनात्मक काममा लाग्ने इच्छा गरेका छन् । महामन्त्री सिंहले नयाँ पत्रिकासँग कुरा गर्दै अब साे कुरा बताएका छन् । प्रस्तुत छ सिंहकाे धारणा उनकै शब्दमा

महामन्त्री पदबाट मुक्त हुने सोच

अहिलेसम्म म पार्टीको हितकै निम्ति महामन्त्रीको जिम्मेवारीमा रहेँ । महामन्त्री हुनुभन्दा अरू काममा लाग्न पाए राम्रो हुने थियो भन्ने सोचिरहेको छु । महामन्त्रीको जिम्मेवारीले मेरा कतिपय काम असफल भइरहेका छन् । किताब लेख्ने, लेख लेख्ने कैयौँ योजना छन् । अनुसन्धानात्मक काम प्रभावित भएका छन् । महामन्त्री भएकै कारण मैले गर्न चाहेका सिर्जनात्मक काम पूरा हुन सकेका छैनन् । यसबाट मुक्त हुन पाए मलाई धेरै सहयोग हुने थियो । यसका लागि धेरैपहिले मैले पार्टीमा प्रस्ताव पनि राखेको थिएँ । तर, मेरो प्रस्ताव स्वीकृत भएको छैन । अब भोलि कुन प्रकारको स्थिति आउँछ । पार्टीको ८औँ महाधिवेशनले के निर्णय गर्छ । त्यसैअनुसार जिम्मेवारीबारे निर्णय हुनेछ ।

अर्धभूमिगत हुनुको अर्थ

यो कुरा त प्रस्टै छ । हामीले तत्कालीन रूपमा सुधारवादी संघर्षहरू गर्छौं । बहुदलीय व्यवस्थाभित्र पनि सुधारका लागि संघर्ष गर्छांै । संघीयता, राष्ट्रियताका लागि संघर्ष गर्दै आएका छौँ । तर, हाम्रो उद्देश्य यतिले मात्र पूरा हुँदैन । यो समाजको आमूल परिवर्तन गर्न आवश्यक छ । राज्यको स्वरूप नै परिवर्तन गर्नुपर्ने आवश्यकता छ । हाम्रो दीर्घकालीन लक्ष्य भनेको नयाँ जनवाद, समाजवाद हुँदै साम्यवादसम्म पुग्ने नै हो । कतिपय संसदीय पार्टीको लक्ष्य नै सत्तामा पुग्ने, मन्त्री, प्रधानमन्त्री बन्ने, सत्ता चलाउने रहेको छ । तर, हाम्रो संघर्ष कैयौँ पुस्तासम्म चल्ने संघर्ष हो । त्यसकारण अहिले नै यही व्यवस्थामा हामी सामेल भयौँ भने हाम्रो लक्ष्य अलमलिन्छ । जस्तै, माओवादी, एमाले, (हालको नेकपा) कांग्रेसलगायत पार्टीहरू फसिरहेका छन् । त्यसकारण यी सबै जञ्जालमा नफस्नका लागि हामीले पार्टीलाई छुट्टै तरिकाले राखेका छौँ ।

अर्कोतर्फ जनताबाट पूरै कटअफ भएर पनि रहन सक्दैनौँ । वैधानिक मोर्चाद्वारा हामी जनतासँग सम्बन्ध राख्ने प्रयत्न गर्छौं । दीर्घकालीन रूपमा पार्टीको मूल ढाँचा, चरित्र र उद्देश्य कायम राख्नका लागि नै म मात्र होइन, पार्टीको ठूलो संरचनालाई नै हामीले अर्धभूमिगत राखेका छौँ । मेरो हकमा सोध्नुहुन्छ भने अर्धभूमिगत रहने कुरा मेरो व्यक्तिगत निर्णय होइन । पार्टीको निर्णय हो । पार्टीको निर्णयअनुसार महामन्त्री अर्धभूमिगत रहने भन्ने छ । यद्यपि, म सधँै महामन्त्री भइरहने कुरा पनि हुँदैन । हाम्रो ८औँ महाधिवेशन हुँदै छ । महाधिवेशनले अर्को व्यक्तिलाई महामन्त्री तोक्न सक्छ । यदि म महामन्त्रीबाट बिदा भएँ भने अर्धभूमिगत भइरहने भन्ने हुँदैन । त्यसैले अर्धभूमिगत कहिलेसम्म रहने भन्ने कुरा मैलेभन्दा पार्टीले नै निर्धारण गर्नेछ ।

Loading...