पहिलो एकदिवसीय क्रिकेटमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित

काठमाडौं । नेपाल पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्यान्ड्ससँग पराजित बनेको छ । नेदरल्यान्ड्सको १९० रनको लक्ष्य पाएको नेपाल ४१ दशमलव ५ ओभर खेल्दा सबै विकेट गुमाउँदै १३४ रनमा समेटियो ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ रनको योगदान दिँदा दीपेन्द्र सिंह ऐरीले ३३, अनिल साहले २१ रन जाेडे । यस्तै कप्तान पारस खड्का १२ रनमै आउट हुँदा अन्य ब्याट्सम्यानले दाेहाेराे अंक पनि छुन सकेनन् । बलिङतर्फ नेदरल्यान्ड्सका पीएम सेलर, रिप्पोन र क्लास्सेनले समान ३–३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा १८९ रन जोड्दा अलआउट भएकाे थियाे । नेदरल्याण्ड्सकाे ब्याटिङ ध्वस्त बनाउने क्रममा पारस खड्काले ४ विकेट हात पारे । यस्दै सोमपाल कामीले ३ तथा सन्दीप लामिछाने, वसन्त रेग्मी र करण केसीले १-१ विकेट लिए ।

केही महिनाअघि जिम्बाब्वेमा सम्पन्न एकदिवसीय विश्वकप छनौटमा आठौं हुँदै नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पक्का गरेको थियो । त्यसपछि नेपालले पहिलो एकदिवसीय खेल खेलेको हो जसमा नेपाल पराजित बन्न पुग्यो ।

नेपाल २ खेलको एकदिवसीय सिरिजका लागि नेदरल्यान्ड्स पुगेको हो । दोस्रो खेल शुक्रवार हुने जनाइएकाे छ ।

Loading...