कार्की र धमला यसरी परे गिरफ्तार, संकटकालमा जस्तै मुकुण्डो लगाएर दिइयो यातना

काठमाडौं, १४ साउन । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य मोहन कार्की जिवन्त र कृष्ण धमला गम्भीरलाई प्रहरीले मानसिक यातना र दुव्र्यवहार गरेको थाहा भएको छ । आफन्तले प्रहरीले उनीहरुमाथि संकटकालीन समयमा जस्तै अमानवीय यातना दिइएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगसहित मानवअधिकारकर्मी र पत्रकारहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

काठमाडौंको नागढुंगा चेकपोष्टबाट गरिफ्तार गरिएका दुई नेतालाई कालो मुकुण्डो लगाएर गाडीमा राखेर जंगलै जंगलको बाटो हुँदै लगिएको र जनयुद्धकालदेखि अहिलेसम्मका अनेकन कुराहरु सोधेर मानसिक यातना दिइएको थाहा हुन आएको छ । उनीहरु साउन १० गते दिउसो साढे २ बजेतिर नागढुंगाबाट गिरफ्तार परेका थिए ।

कसरी गिरफ्तार परे कार्की र धमला ?

पारिवारिक स्रोतका अनुसार दुबै नेता बिहीबार बिहान बुटवलबाट सार्वजनिक बस चढेर काठमाडौं आएका थिए । उनीहरुलाई बुटवलमा बस चढाउने व्यक्तिहरुलाई नै निगरानी राखेर पिछा गरिएको हुनसक्ने आफन्तको भनाई छ । काठमाडौं नागढुंगा आएपछि एकाएक मास्क लगाएका १०–१५ जनाको संख्यामा रहेका व्यक्तिहरुले बस रोकेर सिधै कार्की र धमला बसेको सिटमा गइ सुरुमै उनीहरुको मोवाइल नियन्त्रणमा लिएका थिए । मोवाइल नियन्त्रणमा लिएपछि मात्र नाम सोधेको, त्यो क्रममा कार्कीले आफ्नो नाम अर्कैै बताएपछि मास्कधारीहरु एकछिन अलमल परेको र एकछिन पछाडि अरु सिटमा हेरेपछि फेरि उनलाई नै तपाई मोहन कार्की होइन भनेर प्रश्न गरेको थाहा भएको छ । त्यसपछि उनीहरु दुबै जनालाई बसबाट ओरालेर थानकोटबाट नभई त्यसको विपरित रहेको रामकोटदेखि तलको बाटो हुँदै उनीहरुलाई स्वयम्भु हलचोक पुर्याइएको थियो ।

सो क्रममा कार्की र धमलाले आफूहरुलाई गिरफ्तार गर्नाको कारण सोध्दै कहाँ लिन लागेको हो भन्ने जानकारी मागेका थिए । साथै आफूहरुलाई तत्काल गृहमन्त्रीसँग कुरा गर्न दिन पनि माग गरेका थिए । त्यसैगरी कार्कीले आफू किड्नीको बिरामी भएको भन्दै औषधी खान दिन पनि माग गरेका थिए । तर, प्रहरीले उनीहरुको कुरा नै नसुनेर हलचोकमा जबरजस्त कालो मुकुण्डो र कालो क्याप लगाएर उनीहरुलाई फेरि जंगलतिरकै बाटो अर्कै ठाउँमा लगिएको बताइएको छ । जंगलको लामो कच्ची बाटो लगेर साँझपख उनीहरुलाई महाराजगञ्जमा रहेकाे अपराध अनुसन्धान ब्यूरो (सिआइबी) को कार्यालयमा पुर्याइएको थियो । त्यहाँ केहीबेर सँगै राखेपछि फेरि अलग अलग गरेर उनीहरुसँग सोधपुछको श्रृङ्खला चलेको जानकारी पाएको पारिवारिक स्रोतले जनाएको छ ।

त्यो दिन रातभर सुत्नै नदिएर उनीहरुसँग बयान लिइएको र चर्को मानसिक यातना दिएको बुझिएको छ । पारिवारिक स्रोतले जानकारी दिए अनुसार एकै व्यक्तिलाई करिव दुई दर्जन बढीले फरक फरक विषयमा बयान लिएका थिए । आफूहरुलाई निद्रा लागेकाले सुत्न दिन माग गर्दा पनि प्रहरीले आफूहरुलाई पनि सुत्न नदिएकाले आफूहरुले पनि सुत्न नदिने भन्दै अभद्र गालीसमेत गरेको थाहा भएको छ । बयान लिने क्रममा प्रहरीका उच्च अधिकारीहरु समेत पुगेको स्रोतको दावी छ । त्यो रातभर सुत्न नदिएर सोधपुछ गर्नुका साथै भोलिपल्ट पनि दिउसोसम्म पनि त्यही श्रृङ्खला चलेको थियो । दिउसो उनीहरुलाई अर्को गाडीमा नयाँ बानेश्वर प्रहरी कार्यालयमा ल्याइएको थियो । अघिल्लो दिन हलचोकमा लगाइएको कालो मुकुण्डो त्यो दिन, रात र अर्को दिन बिहान पनि कतै नखोलेर नयाँ बानेश्वर प्रहरी कार्यालयमा पुगेपछि मात्र खोलिएको थियो । त्यसपछि त्यहाँ एउटा रजिस्टरमा तपाईहरुबाट बरामद गरिएका सामान यिनै होइनन भन्दै साइन गर्न भनिएको थियो । तर, कार्की र धमलाले आफूहरुले कुनै हालतमा पनि हस्ताक्षर नगर्ने भनेपछि प्रहरी केहीबेर अलमल परेको थियो । सो क्रममा धमलाले प्रहरीको हातबाट रजिस्टर खोसेर हरेको र त्यसमा काभ्रेको कुन्साङ लामा कन्स्ट्रक्सनको क्रसरमा वम विष्फोट गराई आगजनी गराइएको झुट्टा बयान लेखिएको उनले थाहा पाएका थिए । त्यसपछि उनले त्यसको प्रतिवाद गरेका थिए । साथै उनीहरुले आफूहरुलाई यसबारे गृहमन्त्रीसँग कुरा गराउन भनेका थिए । दुई नेताले हस्ताक्षर गर्न नमानेपछि केहीबेर अलमलिएको प्रहरीले हस्ताक्षर नै नगरेर राती ११ बजेतिर उनीहरुलाई काभ्रेको धुलिखेलमा रहेको जिल्ला प्रहरी कार्यालयमा पुर्याएको बुझिएको छ ।

११ गते राती १२ बजेतिर धुलिखेल पुर्याएका नेता कार्की र धमलालाई १३ गते जिल्ला अदालत धुलिखेलमा पेश गरिएको थियो । प्रहरीले उनीहरुमाथि कुन्साङ लामा कन्स्ट्रक्सनको क्रसरमा वम विष्फोट तथा आगजनी गरेको मुद्दा लगाइएको छ । जिल्ला अदालत काभ्रेले ११ गते शुक्रबारदेखि लागु हुने गरी १३ गते आइतबार सात दिनको म्याद दिएर हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई आदेश गरेको बताइएको छ ।

यसैबीच कार्की र धमलाका आफन्तले ६० वर्षका बृद्ध व्यक्तिलाई यसरी अमानवीय तरिकाले मानसिक यातना दिनुका साथै संकटकालीन समयमा जस्तै मुकुण्डो लगाएर दुव्र्यवहार गरिएकाले यसको छानविन हुनुपर्ने माग गरेका छन् । यसका लागि राष्ट्रिय मानव अधिकार आयोगसहित सबै मानव अधिकारसँग सम्बन्धित संघ संस्थालार्इ सहयाेग गर्न र मिडियालाई आवाज उठाइदिन पनि अाफन्तले माग गरेका छन् । धमला ६० वर्षका हुन भने कार्की ५९ वर्षका छन् । साथै कार्की लामो समयदेखि किड्नीको औषधी खाँदै आएका छन् । १० गते गिरफ्तार परेका उनीहरुलार्इ १३ गते अाइतबारसम्म पनि उनका अाफन्तलार्इ कुनै जानकारी नै नदिएर राखिएकाे थियाे । अाइतबार अदालतमा उपस्थित गराइएपछि मात्र अाफन्तले यसबारे खबर पाएका थिए । 

नेपाल कम्युनिस्ट पार्टीले पनि नेताद्वयलार्इ तत्काल रिहा गर्न माग गरेकाे छ । बृद्ध अवस्था र विरामी समेत रहेका नेताहरुलार्इ यसरी विनाकारण गिरफ्तार गरिनु र झुट्टा मुद्दा लगाएर जवरजस्त फसाउन खाेजिएकाे भन्दै नेकपाले अापत्ती जनाएकाे छ । नेकपाका एक केन्द्रीय सदस्यले केपी अाेली सरकार र गृहमन्त्री रामबहादुर थापा बादलले निरङ्कुशता लादेर देशमा जनताका अधिकार र अधिकारका लागि उठिरहेका अान्दाेलनमाथि जवरजस्त दमन गर्न खाेजेकाे अाराेप लगाए । उनले यसले देशमा ठूलाे द्वन्द्व निम्तने चेतावनी पनि दिए । 

 

Loading...