पद्मालाई मन्त्री बनाउन प्रधनमन्त्री ओलीले फुटाए कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय

काठमाडौँ । 

पद्मा कुमारी अर्याललाई मन्त्री बनाउन प्रधनमन्त्री केपी ओलीले फेरि मन्त्रालय फुटाएका छन् । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबामा बसेको मन्त्रिपरिषद बैठकले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई फुटाएको हो ।

यससँगै संघीय सरकारमा प्रधानमन्त्री कार्यालयसहित मन्त्रालयको २२ संख्या पुगेको छ । अब कृषि तथा पशुपंक्षी र भूमि व्यवस्था तथा गरिबी निवारण अलग अलग मन्त्रालय भएको छ ।

के हो रहस्य ?

स्रोतका अनुसार हाल स्वास्थ्य राज्यमन्त्री रेहकी पद्मा कुमारी अर्याललाई मन्त्री बनाउन मन्त्रालय फुटाइएको हो । अहिले स्वास्थ्यमन्त्री संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव छन् । सामान्यतयाः एउटा पार्टीको फुल मन्त्री भएको मन्त्रालयमा अर्काे पार्टीको राज्यमन्त्री हुने चलन छैन ।

लामो समय स्वास्थ्य राज्यमन्त्री हुँदा राम्रो काम गरेको भन्दै अर्याललाई फुल मन्त्री बनाउनुपर्ने ओली नेतृत्वको सरकारलाई पार्टीभित्रबाट दवाव परेको थियो । अर्याल बाहिरिदा मन्त्रिमण्डलमा महिला मन्त्रीको संख्या पनि कम हुने भएपछि ओली पनि ययसमा सकारात्मक भएका थिए ।

हाल कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल छन् । अब उनलाई कृषि तथा पशुपंक्षी दिइनेछ भने अर्याललाई भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

प्रधान सेनापतिमा महारथि पूर्णचन्द्र थापा

यसैबीच, बिहीबारकै मन्त्रिपरिषद बैठकले नेपाली सेनाको प्रधान सेनापतिमा महारथि पूर्णचन्द्र थापालाई नियुक्त गरेको छ। वर्तमान सेनापति राजेन्द्र क्षत्री अवकाशको चरणमा रहेको हुँदा सरकारले थापालाई सेनापति बनाउने निर्णय गरेको हो ।

थापाले सैन्य मुख्यालयको जिम्मेवारी साउन २५ गतेदेखि सम्हाल्नेछन् । मन्त्रिपरिषद बैठकले थापालाई हाललाइ कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको कार्यकाल आगामी भदौ २४ गते सकिँदैछ । अवकाशपूर्व एक महिना विदामा बस्ने प्रचलनअनुरुप क्षत्री साउन २४ देखि नै विदामा बस्नेछन् ।

सरकारले पूर्णचन्द्र थापालाई साउन २४ देखि लागू हुने गरी कायम मुकायम प्रधानसेनापति बनाउने निर्णय भएको हो । भदौ २४ पछि थापाले पूर्णरुपमा प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने छन् ।

२०७५ साउन ११ मा प्रकाशित ।

Loading...