ब्राजिलले टिटेको प्रशिक्षण अझै कायम राख्ने, २०२२ को विश्वकपको तयारीमा टिटे

एजेन्सी । ब्राजिलियन प्रशिक्षक टिटेले सन् २०२२ सम्म ब्राजिलको टोली सम्हाल्ने भएका छन् । प्रशिक्षक टिटेले बुधबार राति ब्राजिल फुटबल कन्फेडरेशनसंगको सम्झौतामा नवीकरण गरेका छन् ।

५७ बर्षे प्रशिक्षक टिटेले पाँच पटकको विश्वकप बिजेता ब्राजिलसंग थप ४ बर्षको लागि सम्झौता पत्रमा नवीकरण गरेका हुन् । नयाँ सम्झौतासंगै टिटेले कतारमा आयोजना हुने सन् २०२२ को विश्वकपमा ब्राजिलको टिम हेर्ने छन् ।

सन् २०१६ बाट ब्राजिलियन टोली सम्हालेका टिटेले रुस विश्वकपमा ब्राजिललाई क्वाटरफाइनलसम्मको यात्रा तय गराएका थिए । क्वाटरफाइनलमा ब्राजिल बेल्जियमसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

यस्तै ब्राजिलले आर्सनलका पुर्व मिडफिल्डर समेत रहेका इडु गास्परलाई सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

Loading...