शुक्रबार दुर्लभ खगोलीय घटना, यस शताब्दीकै लामो चन्द्रग्रहण

काठमाडाैं । शुक्रबार मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै सबैभन्दा लामो खग्रास चन्द्रग्रहण लाग्ने भएकाे छ। अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुनेछ। यसलार्इ दर्लभ खगाेलीय घटना मानिएकाे छ । नेपालबाट यसलार्इ प्रष्ट रुपमा देख्न सकिने बताइएकाे छ ।

चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ।

शुक्रबार राति (साउन १२ गते) १२ बजेर ९ मिनेटबाट ग्रहण शुरु हुनेछ। राति सवा १ बजे हुँदा चन्द्रमालार्इ पूर्ण रूपमा पृथ्वीको छायाले छोप्नेछ। खग्रास चन्द्रग्रहण बिहान २ बजेर ५६ मिनेटमा सकिनेछ। २ बजेर ६ मिनेटमा खग्रास अधिकतम विन्दूमा पुग्ने यो ग्रहण बिहान ४ बजेर ४ मिनेटमा सकिनेछ।

त्यो समयमा मंगलग्रह पनि चन्द्रमा नजिक हुने हुँदा ग्रहण लागेको समयमा यसलाई खुला आँखाले समेत देख्न सकिन्छ। सन् २०७१ चैत २१ गते यो शताब्दीको सबैभन्दा छोटो चन्द्रग्रहण लागेको थियो। त्यतिबेला पाँच मिनेटको चन्द्रग्रहण लागेको थियो।

नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासाे)का अध्यक्ष सुरेश भट्टराईले लामो वा छोटो चन्द्रग्रहण भन्ने विषय पृथ्वीको सघन छाया (अम्ब्रा)मा चन्द्रमा कुन दिशाबट प्रवेश गर्छ भन्ने विषयले निर्धारण गर्ने बताए। ‘यसपटक चन्द्रमा पृथ्वीको सघन छायाबाट पार गर्दा मध्यभाग हुँदै जाने छ,’ भट्टराईले नेपालखबरसँग भने।

नेपालसहित दक्षिण एशिया, हिन्द महासागर क्षेत्र, अफ्रिका, मध्यपूर्व र एशिया प्रशान्त क्षेत्रबाट चन्द्रग्रहण देखिने उनले बताए। ‘मनसुनको समय भएका कारण हेर्न पाइन्छ वा पाइँदैन अहिलै भन्न सक्ने स्थिति छैन’, उनले भने।

नेपालभरि मनसुन उच्च विन्दुमा रहेकाले शुक्रबार राति वर्षा हुने वा बदली हुने अनुमान छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले शुक्रबार नेपालको अधिकांश भूभागमा बदली हुने वा पानी पर्ने जानकारी दिए।

‘मनसुनको समयमा दिउँसोभन्दा राति बदली हुने र पानी पर्ने संभावना बढी रहन्छ’ पौडेलले नेपालखबरसँग भने, ‘गत साताभन्दा यो साता मनसुनको सक्रियता बढेको छ। आगामी दुई तीन दिन मनुसनुको सक्रियता झनै बढी रहनेछ। कतै कुनै समयमा आकाश खुलेर देखियो भने मात्रै हो नत्र बादलले ढाक्नेछ।’

पहाड र तराई दुवै भूभागमा बदली हुने संभावना रहेको उनले बताए। जुलाईदेखि अगस्ट महिनासम्म मुनसनको सक्रियता उच्च हुने गर्छ।

Loading...